काठमाडौं । सरकारले जुनियर एआईजीलाई आईजीपी बनाएपछि दुई सिनियर एआईजीहरू सर्वोच्च अदालत जाने तयारीमा लागेका छन् ।
तेस्रो नम्बरमा रहेका धिरजप्रताप सिंहलाई आइतबार बसेको मन्त्रिपरिषद् बैठकले आईजीपीमा बढुवा गर्ने निर्णय गरेपछि सिनियर एआईजीहरू विश्वराज पोखरेल र सहकुल थापा अदालत जाने तयारीमा लागेका हुन् ।
स्रोतका अनुसार दुवै जना कानूनी परामर्शमा जुटेका छन् । सरकारले गरेको निर्णय कार्यान्वयन नगर्न र आफूहरुलाई आईजीपी नियुक्त गर्न माग गर्दै रिट दर्ता गर्ने तयारीमा एआईजीहरू रहेका छन् ।
गृह मन्त्रालयले समेत विश्वराजलाई पहिलो नम्बरमा राखेर आईजीपी बढुवाका लागि सिफारिस गरेको थियो । तर, प्रधानमन्त्री शेरबहादुर देउवाको दबाबमा सिंहलाई आईजीपी बनाइएको हो ।
आईजीपी नियुक्त गर्ने विषयमा प्रधानमन्त्री देउवा र गृहमन्त्री बालकृष्ण खाँणबीच मतभेद थियो । गृहमन्त्री खाँण पोखरेललाई नै आईजीपी नियुक्त गर्नुपर्ने अडानमा थिए । देउवाले सिंहलाई नै आईजीपी बनाउने बताएका थिए । आईजीपी नियुक्तिको विवाद पाँचदलीय गठबन्धनको बैठकमा समेत पुगेको थियो । जहाँ शीर्ष नेताहरू पनि विभाजित देखिएका थिए ।
प्रधानमन्त्रीको प्रस्तावमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहमत देखिएका थिए ।गृहमन्त्रीको प्रस्तावमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सहमत थिए । आईजीपी नियुक्तिको विषयमा नेताहरूबीच सहमति जुट्न नसकेपछि प्रधानमन्त्री देउवा आफ्नै अडानअनुसार अघि बढेका हुन् ।