रुपन्देही। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू जहाँ पुग्यो त्यहाँ जिन्दावादको नारा लागेको बताएका छन्। रुपन्देहीको तिलोत्तमामा आज आयोजित माओवादी केन्द्रसँग राष्ट्रिय जनमुक्ति पार्टी समाहित तथा राजनीतिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन्।
अध्यक्ष प्रचण्डले भने, ‘पछिल्लो समय जहाँ गएँ, त्यही पार्टी नेतृत्वप्रति जिन्दावादको नारा लागेको छ। नेपाली जनताको यो भरोसालाई अलिकति पनि तोड्न दिने छैन। प्रतिक्रियावादी जाली झेलीहरुले राष्ट्रलाई बन्दक बनाउने नेपाली जनतालाई भ्रष्टाचार जाँतोमा पिस्ने जुन काम गरेका छन्। हामी समाजवादी नयाँ आन्दोलन मार्फत त्यसको प्रतिवाद गर्नेछौं, भर्खरै सम्पन्न स्थानीय तहको उपनिर्वाचनले को सिद्धिँदैछ, को रिभाइभ भएर आउँदै छ भन्ने देखाइ सकेको छ। को शक्तिशाली बन्दै छ र कोप्रति जनताको घिडा देखिएको भन्ने संकेत देखिएको छ।’
‘जनताले मनमनै फैसला गरिसकेको छ। जनतालाई माया गर्ने पार्टी माओवादीले नै हो, परिर्वतनको पक्षमा लड्ने पार्टी माओवादी केन्द्र र नेता प्रचण्ड नै हो भन्ने जनतालाई परेको छ,’ उनले भने।
माओवादी केन्द्रको नेतृत्वमा बनेका सरकारले गरेका काम र अगाडि बढाएका योजनालाई जनताले सकारात्म ढंगले बुझ्दै गएका कारण माओवादी केन्द्रलाई जनताले माया गर्न थालेको उनको दाबी छ। आफू सरकारमा रहँदा भ्रष्टाचारविरुद्ध सुशासनको अभियान, सामाजिक न्याय, राष्ट्रको हितमा छिमेकी र अन्य राष्ट्रहरुसँग राम्रो सम्बन्ध कायम गर्दै दूरगामी रुपमा राज्यलाई फाइदा हुने गरी चीन र भारतसँग सहमति र सम्झौता गरेकोसमेत उनले दाबी गरेका छन्।
अध्यक्ष प्रचण्डले भने, ‘म सरकारमा रहँदा भ्रष्टाचारीहरुलाई कारबाही अगाडि बढाएँ। धेरै राजनीतिक नेताहरु, ठूला ठला कर्मचारी, भूमाफियाहरुलाई कारबाही गरी राज्यको सम्पत्ति जनताको हातमा ल्याउने काम गरेँ। भ्रष्टाचारीहरुहरु विरुद्धको कारबाही अगाडि बढाउँदा म प्रचण्ड नै अगाडि देखिए त्यसलाई पनि नछोड्न भनेर सुशासनको अभियान चालियो। मिटरब्याज पीडितहरुको समस्या समाधान गर्न ऐन ल्याएर नै समाधान गर्न मिहनेत गरियो। त्यसैगरी विदेसमा रहेका नागरिकलाई सामाजिक सुरक्षा कोषमा ल्याउने काम गरियो। अर्थतन्त्रको सुधारका लागि पहल सरकारबाट लिइयो।’
माओवादी केन्द्रप्रति जनताको आकर्षण बढ्दै गएको उल्लेख गर्दै पार्टीलाई थप एकताबद्ध बनाउँदै जनताको बीचमा लैजान र जनताको भावनालाई समेट्ने काममा लाग्न निर्देशन समेत उनले दिए।
देशको निम्ति, उत्पीडित वर्ग समुदायको निम्ति, राष्ट्रको स्वाधिनता र एकताको रक्षाका निम्ति, संविधानको रक्षाको निम्ति, सबै उत्पीडित वर्ग समुदाय, किसान मजदुरको हक र हितको रक्षाका निम्ति माओवादी केन्द्रलाई बलियो बनाउनुपर्छ भन्ने कुरा जनता र माओवादी केन्द्रसँग एकताको प्रक्रियामा आउने र आउन चाहेका सबैमा पर्दै गएको उनले जनाए।
उनले भने, ‘म खुसी व्यक्त गर्न चाहन्छु हाम्रो पार्टीमा विभिन्न पार्टीका नेताहरु प्रवेश गर्ने लहरले माओवादी केन्द्र बन्ने दिशामा छ भन्ने देखिएको छ। ठूलो बलिदानमार्फत देशमा सबै वर्गको हक अधिकार स्थापित गरेका छौं। जनताले पाएको अधिकार खोस्न खोजिएको छ हामी त्यसो हुन दिँदैनौं।’