काठमाडौँ । स्वास्थ्यमा समस्या देखिएपछि धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाललाई थप उपचारका लागि दिल्लीको म्याक्स अस्पतालमा भर्ना गरिएको छ।
उनकी छोरी आर्जु हमालले आफ्ना बुबालाई दिल्लीस्थित म्याक्स अस्पतालमा भर्ना गरिएको जानकारी दिएकी हुन् । उनले हमालको बोली स्पष्ट नभएको र शरीरको समन्वयमा समस्या देखिएको उल्लेख गरेकी छन् ।
उनका अनुसार धनगढीबाट एम्बुलेन्समा साथमा गएका डा. विकास रिजाल आफैँले सबै कुराको सुपरिवेक्षण गरिरहेका छन् ।
उनले लेखेकी छिन्, 'यस घटनाले हामीसँग राम्रो स्वास्थ्य सेवा प्रणाली होस् । हामीले स्वास्थ्य सेवाको खोजीमा लामो दुरीको यात्रा गर्नु दुखको कुरा हो।”
यसअघि नगरप्रमुख हमाललाई श्वास फेर्न र मस्तिष्कमा समस्या देखिएपछि धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि दिल्ली पठाइएको थियो ।
विसं २०७९ को स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर उनी नगर प्रमुखमा निर्वाचित भएका हुन् ।