काठमाडौं। सभापति रवि लामिछानेलाई पक्राउ गरिएको विरोधमा पोखरामा प्रदर्शनमा उत्रिएका रास्वपाका कार्यकर्तामाथि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ ।
लामिछानेलाई तेस्रो पटक म्याद थपका लागि आज कास्की जिल्ला अदालतमा पेस गरिएको अवस्थामा उनका समर्थकले प्रदर्शन गरेका हुन् ।
प्रदर्शनकारीले रत्नचोक हुँदै वाइ चोकमा निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो ।
पोखरास्थित जिरो किलोमा भेला भएका रास्वपाका नेता कार्यकर्तासहितका समर्थकले लामिछानेको पक्षमा नाराबाजी गरेका थिए । प्रदर्शनमा सहभागीहरूले लामिछानेको रिहाइको माग गरेका छन्।
राजनीतिक प्रतिशोध साँधेर सभापति लामिछानेलाई राज्यले फसाउन खोजेको रास्वपाले दाबी गर्दै आएको छ ।
सहकारी ठगी तथा संगठित अपराधको आरोपमा लामिछाने यही कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए ।
लामिछानेमाथि अनुसन्धानका लागि कास्की जिल्ला अदालतले पहिलो पहिलो पटक ६ दिन र दोस्रो पटक ७ दिनको म्याद थपेको थियो । उक्त म्याद कात्तिक १४ गतेसम्म रहेकोमा त्यसपछि तिहार बिदा परेकाले लामिछानेलाई आज अदालतमा पेस गरिएको हो ।