काठमाडौं । अन्तर्राष्ट्रिय फौजदारी अदालतले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अर्को साता मङ्गोलियाको भ्रमण गरेमा मङ्गोलियाली अधिकारीहरूले उनलाई पक्राउ गर्ने दायित्व रहेको बताएको छ।
पुटिनले अर्को हप्ता मंगलबार मङ्गोलियाको भ्रमण गर्न सक्नेछन्। पुटिनले अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) को सदस्य राष्ट्रको भ्रमण गर्न लागेको यो पहिलो पटक हो ।
आईसीसीका प्रवक्ता डाक्टर फादी अल-अब्दल्लाहले शुक्रबार बीबीसीलाई भने – अदालत “आफ्नो आदेशको पालना गराउन” मंगोलिया लगायतका सदस्य राष्ट्रहरूमाथि निर्भर छ।” उनले आईसीसीका अन्य सदस्य राष्ट्रहरू जस्तै यसमा सहयोग गर्नु मङ्गोलियाको दायित्व भएको बताए ।
मार्च २०२३ मा, आईसीसीले पुटिनको गिरफ्तारीको लागि वारेन्ट जारी गरेको थियो। अदालतले युद्ध अपराधका लागि पुटिन जिम्मेवार रहेको र रुस–युक्रेन युद्ध सुरु भएपछि युक्रेनी बालबालिकालाई अवैध रूपमा रुस छोड्नबाट रोक्न नसकिएको जनाएको छ ।
तर, रुसले पुटिनमाथि लगाइएको आरोप अस्वीकार गर्दै आएको छ । आईसीसीले पुटिनको नाममा वारेन्ट जारी गर्नुलाई रुसले ‘लज्जास्पद’ भनेको थियो।
युक्रेनी अधिकारीहरूले पुटिनलाई मङ्गोलिया पुगेपछि पक्राउ गर्न माग गरेका छन्। युक्रेनी विदेश मन्त्रालयले भनेको छ “हामीलाई आशा छ कि मंगोलियाले पुटिन युद्ध अपराधी हो भनेर थाहा पाउनेछ।”
यद्यपि, क्रेमलिनको राष्ट्रपति कार्यालयले पुटिनको भ्रमणको बारेमा “कुनै चिन्ता” नभएको बताएको छ।
क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भने, “मंगोलियामा हाम्रा साझेदारहरूसँग हाम्रो राम्रो सम्बन्ध छ। यद्यपि हामीले राष्ट्रपतिको भ्रमणको तयारीमा सबै सावधानी अपनाएका छौं।”
आईसीसीका प्रवक्ता डा अब्दल्लाह भन्छन् – यदि कुनै सदस्य देशले “आदेशको पालना गर्न अस्वीकार गर्यो” भने आईसीसी न्यायाधीशहरूले त्यसमा नजर राख्नेछन् र सदस्य देशहरूको बैठकमा यसबारे छलफल हुनेछ। यसपछि ‘आवश्यक देखिए जस्तोसुकै कारबाही’ हुनेछ।
आइसीसीसँग कसैलाई पनि गिरफ्तार गर्ने अधिकार छैन । यो अदालत आफ्नो आदेश पालना गराउनका लागि सदस्य राष्ट्रहरूमा निर्भर छ।