काठमाडौँ। बंगलादेशमा भेदभाव विरोधी छात्र आन्दोलनका नेता नाहिद इस्लामले गठन हुने भनिएको अन्तरिम सरकारको नेतृत्वका लागि नोबेल शान्ति पुरस्कार विजेता अर्थशास्त्री प्रोफेसर मोहम्मद युनुसको नाम प्रस्ताव गरेका छन् ।
बंगलादेशमा जारी आन्दोलनको समन्वय गरिरहेका मध्येका एक इस्लामले मंगलबार बिहान सामाजिक सञ्जाल फेसबुकमा भिडिओ सन्देश जारी गर्दै युनुसको नाम अन्तरिम सरकारको नेतृत्वका लागि प्रस्ताव गरेका हुन् ।
उनले रास्ट्रपतिसँग छिटोभन्दा छिटो युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन गर्न पनि आग्रह गरेको बीबीसी हिन्दीले जनाएको छ ।
इस्लामले अन्तरिम सरकारको नेतृत्वका बारेमा प्रोफेसर युनुससँग छलफल भइसकेको समेत उल्लेख गरेका छन् ।
‘हामीले मोहम्मद युनुससँग कुरा गरिसकेका छौँ । उहाँ विद्यार्थीको अपिलमा बंगलादेशका लागि जिम्मेवारी लिन सहमत हुनुहुन्छ’, उनले भिडियो सन्देशमा भनेका छन ।
भेदभाव विरोधी छात्र आन्दोलनले सल्लाहकार परिषदका अन्य सदस्यको नाम पनि छिट्टै घोषणा गरिने बताएको छ ।
यस अघि पत्रकार सम्मेलनमा इस्लामले भनेका थिए, ‘छात्र–नागरिकद्वारा समर्थन अथवा प्रस्ताव नगरिँदासम्म हामी कुनै पनि प्रकारको सरकारको समर्थन गर्दैनौँ ।’
प्रकाशित मिति : २२ श्रावण २०८१, मंगलबार १० : ५० बजे