काठमाडौं । आईसिसी टी–२० विश्वकपको पहिलो खेलमा अफगानिस्तानले युगान्डालाई १ सय २५ रनको विशाल अन्तरले हराएको छ।
१ सय ८४ रनको लक्ष्य पछ्याएको युगान्डा ५८ रनमा समेटियो। युगान्डाका लागि रोबिन्सन ओवुयाको १४ रन नै सर्वाधिक रह्यो। रियाज अलि साहले ११ रनको योगदान दिए। अन्य कुनै ब्याट्म्यानले दोहोरो अंक बनाउन सकेनन्।
अफगानिस्तानका फजलहक फारुकी एक्लैले ५ विकेट लिए। नविन उल हक र रासिद खानले २/२ विकेट लिए।
त्यसअघि गुयनामा टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानका ओपनरद्वय रहमानुल्लाह गुर्बाज र इब्राहिम जाद्रनले पहिलो विकेटको लागि एक सय ५४ रनको साझेदारी गरेपछि युगान्डालाई एक सय ८४ रनको लक्ष्य दिएको थियो।
अफगानिस्तानले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै एक सय ८३ रन बनाएको थियो। गुर्बाजले ४५ बलमा चार चौका र चार छक्कासहित सर्वाधिक ७६ रन बनाए। इब्राहिमले ४६ बलमा ९ चौका र एक छक्का हिर्काएका हुन्। पहिलो साझेदारी निकै राम्रो भएपनि अफगानिस्तानले त्यसपछि राम्रो ब्याटिङ गर्न सकेन। २९ रन जोड्दा ४ विकेट गुमाएको थियो।
युगान्डाका ब्रिआन मासादा र कोस्मास केयुताले सर्वाधिक समान २ विकेट लिए। अल्पेस रामजानीले एक विकेट हात पारे।
समूह ‘सी’ मा अफगानिस्तान र युगान्डासँगै वेष्ट इन्डिज र न्युजिल्यान्ड तथा पपुवा न्युगिनी छन्।
प्रतियोगिता अन्तरगत आज इंग्लयाण्ड र स्कटल्याण्ड तथा नेपाल र नेदरल्याण्ड्स आमने सामने हुनेछन्।