रौतहट । मधेश प्रदेश प्रहरी कार्यालय प्रमुख डिआईजी यज्ञबिनोद पोखरेलको कडा निर्देशनपछि सर्वसाधारण व्यापारीको ३१ थान मोबाइलसँगै दुईलाख रुपैया ठग्ने बहालवाला एकजना प्रहरी सहायक हवल्दार र एकजना प्रहरी जवानलाई कानुनी कारवाहीको दायरामा ल्याइएको छ।
डिआईजी पोखरेलको निर्देशनमा आरोपीद्वय जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत सहायक हवलदार दीपेन्द्र कुमार राज र जवान रोशन कुमार यादव प्रहरी हिरासतमा पुगेका छन्। जिल्ला प्रहरी कार्यालय धनुषामा दुवैजनामाथि आइतबार आपराधिक विश्वासघात र आपराधिक लाभ शिर्षकमा दुद्दा दर्ता भएको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रवक्ता एसएसपी श्याम कुमार महतोले बताएका छन।
आइतबार नै जिल्ला अदालत धनुषाबाट ७ दिनको म्याद थमाएर दुबैजनालाई जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा राखेर घटना सम्बन्धी अनुसन्धान भइरहेको प्रवक्ता एसएसपी महतोले जानकारी दिएका छन्।
महोत्तरीको महोत्तरी गाउँपालिका- ५ घर भएका सहायक हवलदार दीपेन्द्र र सुनसरी जिल्लाको देवागन्ज गाँउपालिका २ घर भएका प्रहरी जवान रोशन मिलेर जनकपुरका एकजना व्यापारीसँग यही ८ फागुनमा विभिन्न ब्राण्डको ३१ थान मोबाइल खरिद गरेका थिए।
पछी मोबाईल फिर्ता गर्ने भनेर व्यापारीसँग दुईलाख रुपैयाँसमेत लिएर पटकपटक माग गर्दा पनि फिर्ता नगरेपछि बाध्य भएर पीडित व्यापारीले १३ फागुनमा उनीहरू विरुद्ध प्रदेश प्रहरी कार्यालयमा लिखित उजुरी दिएका थिए।
उजुरीपछि सहायक हवल्दार दीपेन्द्र कुमार राज र जवान रोशन कुमार यादवलाई नियन्त्रणमा लिएर अनुसन्धान गरेपछि उनकै बयानको आधारमा सोहि दिन जनकपुर उमनपा ७ अन्जनीमाई कुटी को उत्तर पोखरीको डिलमा तल झाडीमा स्यानो रातो ब्यागमा लुकाई छिपाई राखेको उक्त ३१ थान मोबाईल र दुईलाख मध्ये ९५ हजार रुपैयाँ उनीहरूको रोहवारमै बरामद भएको थियो।
दुईदिनको अनुसन्धान पछि हिजोदेखि कार्वाही प्रक्रिया सुरु गरिएको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले जारीहरेको सूचनामा उल्लेख गरिएको छ।
डिआईजी पोखरेलकै सक्रियतामा केही दिनअघि रौतहटस्थित सरस्वतीको मूर्ति बिसर्जनको बिषयमा उत्पन्न हिन्दू मुस्लिमबीचको सम्प्रदायिक झगडा सहजरूपमा मिलाइएको थियो।