काठमाडौं । नेपालले माल्दिभ्समाथि फराकिलो जित हासिल गरेको छ ।
मलेसियामा जारी एसीसी महिला प्रिमियर कप अन्तर्गत समुह डी को अन्तिम खेलमा नेपालले माल्दिभ्समाथि २१४ रनको जित हासिल गरेको हो ।
नेपालले दिएको २२८ रनको लक्ष्य पछाएको माल्दिभ्स १३.५ ओभरमा १३ रन मात्र बनाएर अलआउट भएपछि नेपाल २१४ रनले विजयी भएको हो ।
यस अघि पहिला ब्याटिंग गर्दै नेपालले २० ओभरमा ४ विकेट गुमाउदै २२८ रन बनाएको थियो ।
नेपालका लागि रुबिना क्षेत्रीले शतकीय पारी खेलेकी थिइन् । रुबिनाले टी- २० अन्तर्राष्ट्रिय खेलमा नेपालको तर्फबाट पहिलो शतक बनाउदै नयाँ किर्तिमान बनाएकी छन् । यस खेलमा रुबिनाले अविजित ११८ रन बनाएकी थिइन् ।
त्यस्तै पुजा महतोले अविजित ५९ रन बनाएकी थिइन् । रुबिना र पुजाले पाँचौं विकेटका लागि १६६ रनको कीर्तिमानी साझेदारी गरेका थिए । यो नेपालको महिला क्रिकेटमा कुनै पनि विकेटका लागि भएको अहिलेसम्मको उच्च साझेदारी हो ।
त्यसैगरी यस खेलमा कबिता कुँवरले १३, सिता राना मगरले १५ रन बनाएकी थिइन् ।
यो जितपछि नेपाल समुह डी मा अपराजित रहदै क्वाटरफाइनलमा पुगेको छ । समुह डी बाट नेपालसँगै हङकङ दोस्रो हुदै क्वाटरफाइनलमा पुगेको छ ।