हेटौंडा । लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ 'एस’ नेपाल र हिमालयना कट्रयाक प्रोजेक्टको संयुक्त आयोजना तथा हेटौंडा सामुदायिक आँखा अस्पतालको प्राविधिक सहयोगमा बिभिन्न स्थानहरुमा भएका निःशुल्क आँखा परीक्षण शिविरबाट पहिचान भएका २५० जना मोतियाविन्दुका बिरामीमध्ये १०८ जना बिरामी सफल शल्यक्रियापश्चात् बिहीबार डिस्चार्ज भएका छन् ।
डिस्चार्ज भएका सबै बिरामीको स्वास्थ्यलाभको कामना गर्दै हेटौंडा उपमहानगर प्रमुख मीनाकुमारी लामाले लायन्स क्लबहरुले गरेका सामाजिक कार्यहरुको प्रशंसा गरिन् । बाँकी १४२ जना मोतियाविन्दुका बिरामीहरुको बिहीबार शल्यक्रिया भएको लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ 'एस’ नेपाल एरिया-२ का चिफ जेपी यादवले बताए । बिहीबार शल्यक्रिया भएका सबै बिरामीहरुलाई शुक्रबार डिस्चार्ज गरिने हेटौंडा सामुदायिक आँखा अस्पतालले जनाएको छ ।
मोतियाविन्दुको शल्यक्रिया भएपछि आँखा प्रष्ट देखिएको सिमराकी ६९ वर्षीया सोनादेवीले बताइन् । आँखा उपचारका लागि अस्पताल जानसक्ने अवस्था नहुँदा घरनजिक शिविर चलाइ निःशुल्क उपचार गरिदिएकोमा शिविर सञ्चालन गर्ने संस्थाहरुलाई उनले धन्यबाद दिइन् ।
लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ ॅएस’ नेपाल एरिया-२ अन्तर्गत् क्रियाशील सम्पूणर् लायन्स क्लब तथा लियो क्लबहरुको सहकार्यमा माघ २० गतेदेखि २३ गतेसम्म बिभिन्न स्थानमा भएका आँखा परीक्षण शिविरमा १ हजार ६ सय १७ जनाको आँखा परीक्षण गरिएको थियो । जसमध्ये २५० जनामा मोतियाविन्दु पहिचान भएका थिए । मोतियाविन्दुका सबै बिरामीहरुलाई हेटौंडा सामुदायिक आँखा अस्पतालमा निःशुल्क शल्यक्रिया गरिएको छ ।
लायन्स क्लबको वार्षिक भिजन कार्यक्रमअन्तर्गत् आँखा परीक्षण शिविर सञ्चालन गरिएको मुख्य कार्यक्रम संयोजक हरिवंश भेटवालले बताए । स्रोत र साधन अभावमा मोतियाविन्दुका कारण दृष्टिविहीन भएकाहरुलाई दृष्टि प्रदान गर्नु कार्यक्रमको उद्धेश्य भएको भेटवालले बताए । आँखा परीक्षण शिविर मकवानपुरको शिखरकटेरी, पाथीभरा, बुढीचौर, राईगाउ“, बागमती र बाराको इनरवासिरा, हरिपुर, हल्खोरिया र हरपुर तथा सर्लाहीको रामनगरमा सञ्चालन गरिएको थियो ।