काठमाडौं । माल्दिभ्सको संसदमा विपक्षी र सत्तारुढ दलका सांसदहरुबीच झडप भएको छ ।
आइतबार माल्दिभ्सको संसदमा राष्ट्रपति मोहम्मद मुइज्जुको मन्त्रिपरिषद्मा चार सदस्यलाई अनुमोदन गर्ने प्रस्तावको विषयलाई लिएर मुइज्जु सरकारका समर्थक र विपक्षी सांसदहरूबीच झडप भएको हो ।
कतिपय सांसदले सभामुखको कुर्सीमा पुगेर हर्न फुक्दै विरोध गरेको पनि देखिन्छ ।
त्यस क्रममा कान्दथिमुका सांसद अब्दुल्लाह शाहीम अब्दुल हकीम शाहीम र केन्दीकुलहुदुका सांसद अहमद इसाबीच झडप भएको थियो ।
झडपका क्रममा दुवै सांसद सभामुखको कुर्सी नजिकै लडेका थिए । शहीमको टाउकोमा चोट लागेको छ । अल्पसंख्यक नेता मुसा सिराजले पनि यो झगडा रोक्न खोजेका थिए ।
सांसद शाहीमलाई अस्पताल लैजानुपरेको थियो । हसन जहीर नामका सांसदको पनि औंलामा गम्भीर चोट लागेको छ ।
सो झडपका कारण मन्त्रिपरिषद् सदस्य अनुमोदनको विषयमा मतदान हुन सकेन ।
सरकार समर्थक र नेताहरु अहिले संसद बाहिर विरोध प्रदर्शन गरिरहेका छन् । नयाँ मन्त्रिपरिषद्लाई अनुमोदन गर्नुपर्ने उनीहरुको माग छ ।
माल्दिभ्समा प्रोग्रेसिभ पार्टी अफ माल्दिभ्स र पिपुल्स नेसनल कांग्रेस अर्थात पीपीएम र पीएनसीबीच गठबन्धन छ । यो गठबन्धनको सरकार छ ।
यो गठबन्धनले चार जना नयाँ मन्त्रिपरिषद् ल्याउन चाहन्छ । तर, विपक्षी दलहरु यो चाहँदैनन् ।
माल्दिभ्सको प्रमुख विपक्षी दल माल्दिभियन डेमोक्र्याटिक पार्टी वा एमडीपीले मन्त्रिपरिषदमा मतदान गर्नुअघि चार जना मन्त्रिपरिषद् सदस्यको संसदीय अनुमोदन रोक्ने निर्णय गरेको छ।
यसपछि मोहम्मद मुइज्जु सरकारलाई समर्थन गर्ने सांसदहरूले विरोध जनाएका थिए। जसका कारण संसदको बैठक पनि अवरुद्ध भएको थियो ।