चितवन । गोली हानी गैँडा मारेको आरोपमा चितवन राष्ट्रिय निकुञ्जले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पूर्वी चितवनको राप्ती नगरपालिका–६ का टीकाराम बोहोरा भनिने खेसरबहादुर बोहोरा छन् । उनलाई तीन वर्षपछि पक्राउ गरिएको हो ।
निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार, बोहोरालाई माघ ९ गते हेटौँडा उपमहानगरपालिका–२, चौकीटोलबाट पक्राउ गरिएको थियो । वि.सं. २०७६ भदौ ३१ गते नवलपरासीको अमलटारी क्षेत्रमा गैँडा मारी खाग काटेर लगेको र ०७७ कात्तिक २० गते निकुञ्जको भोसाराघाटको आइल्यान्ड क्षेत्रमा गोली हानी गैँडा मारेर खाग काटेर लगेको आरोपमा उनलाई पक्राउ गरिएको हो ।
ती घटनामा बोहोरासहित अरू २४ प्रतिवादी रहेको सूचना अधिकारी तिवारीले जानकारी दिए ।
उक्त घटनामा संलग्न बोहोरासहित २१ जना पक्राउ परिसकेका छन् । अरू तीनजना फरार छन् । पक्राउ परेका बोहोरालाई बुधबार चितवन जिल्ला अदालतमा पेस गरिएको तिवारीले बताए ।