एजेन्सी । कांग्रेस नेता राहुल गान्धीलाई मन्दिर जानबाट रोकेपछि आसाममा धर्ना बसेका छन् ।
गान्धी ‘भारत जोडो न्याय यात्रा’ गरिरहेका छन् र यो यात्रा हाल आसाममा छ । त्यसक्रममा गान्धी वैष्णव सन्त श्रीमन्त देवको स्थल बटाद्रवा थान मन्दिरमा जाँदै थिए । तर, बाटोमै प्रहरीले राहुल गान्धीलाई रोकेको छ । त्यसपछि उनी धर्ना बसिरहेका छन् ।
राहुल गान्धीको प्रश्न
यस घटनाको एउटा भिडियो सार्वजनिक भएको छ जसमा राहुल गान्धी आफ्नो कारबाट बाहिर निस्केर पुलिसकर्मीलाई सोध्छन् कि उनलाई किन रोकियो ?
भिडियोमा गान्धीले भनेका छन्, ‘भाइ, के भयो ? के म गएर ब्यारिकेड हेर्न सक्छु ? म किन मन्दिर जान सक्दिन ? मन्दिर जान नपाइने ? मसँग अनुमति छ। मलाई मन्दिर प्रशासनले बोलाएको छ, म भगवानको दर्शन गर्न चाहन्छु।’
घटनापछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘हामी मन्दिर जान खोजिरहेका छौं। हामीलाई बोलाइयो र अहिले जान दिइएन, आज एउटा मात्र व्यक्ति(प्रधानमन्त्री नरेन्द्र मोदी) मन्दिर जान पाउने देखिन्छ।’
आज अयोध्याको राम मन्दिरमा रामललाको मूर्तिलाई अभिषेक गरिएको छ । उक्त कार्यक्रममा देशका धेरै सेलिब्रेटीहरुको उपस्थिति रहेको छ।
प्राणप्रतिष्ठाको पूजा प्रधानमन्त्री नरेन्द्र मोदी र संघ प्रमुख मोहन भागवतले गरेका थिए । यस अवधिमा यूपीका मुख्यमन्त्री योगी आदित्यनाथ र राज्यपाल आनन्दीबेन पटेल पनि गर्भगृहमा उपस्थित थिए।