एजेन्सी । माल्दिभ्सको मोहम्मद मुइज्जु सरकारले भारतीय सैनिकहरूलाई मार्च १५ सम्ममा देश छोड्न भनेको छ।
माल्दिभ्सको विदेश मन्त्रालयले भारतीय सेना फिर्ता गर्ने प्रक्रिया सुरु गर्न दुवै देश सहमत भएको जनाएको छ । भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भारतीय सेना फिर्ता गर्ने समयसीमाबारे भने केही उल्लेख गरिएको छैन ।
भारतको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा मालेमा उच्चस्तरीय कोर समूहको बैठक बसेको जनाइएको छ । भेटमा दुई देशबीचको आपसी सम्बन्ध र सहयोग अभिवृद्धि गर्ने विषयमा छलफल भएको थियो ।
विज्ञप्तिमा भनिएको छ, ‘माल्दिभ्सका जनतालाई मानवीय र चिकित्सा सुविधा उपलब्ध गराउने भारतको उड्डयन प्लेटफर्मलाई निरन्तरता दिने समाधान खोज्न दुई देशबीच छलफल भएको थियो। दुई देशबीच अर्को भेटवार्ता हुनेछ ।’
भारतीय सेना फिर्ता गर्ने विषयमा दुवै देशको उच्चस्तरीय कोर समूहको बैठकपछि जारी भनाइमा कुनै समानता छैन । एकातिर माल्दिभ्सले भारत तयार रहेको भन्दै छ भने अर्कोतिर भारतले यस्तो केही बोलेको छैन ।
माल्दिभ्सको मुइज्जु सरकारले भारतलाई यो समयसीमा यस्तो समयमा दिएको हो, जब दुई देशबीच दूरी बढेको छ ।
आइतबार राष्ट्रपतिका सार्वजनिक नीतिका मुख्य सचिव अब्दुल्लाह नाजिम इब्राहिमले पत्रकार सम्मेलन गरी सो जानकारी दिएका हुन् ।
समाचार एजेन्सी पीटीआईका अनुसार पछिल्लो सरकारी तथ्याङ्क अनुसार हाल माल्दिभ्समा ८८ भारतीय सैनिक छन् ।
मोहम्मद मुइज्जुले चुनावमा ‘इन्डिया आउट’को नारा दिएका थिए र राष्ट्रपति बनेपछि उनको प्रारम्भिक प्राथमिकतामा भारतीय सेना फिर्ता गर्नु थियो ।