एजेन्सी । बंगलादेशमा आज (आइतबार) आम निर्वाचनका लागि देशभर मतदान भइरहेको छ । राष्ट्रियसभाका ३ सय निर्वाचन क्षेत्रमध्ये २९९ निर्वाचन क्षेत्रमा आज मतदान हुँदैछ । नौगाउँ–२ सिटमा उम्मेदवारको मृत्यु भएपछि मतदान स्थगित भएको छ ।
प्रधानमन्त्री शेख हसिनाको नेतृत्वमा रहेको सत्तारुढ अवामी लिगले चौथो पटक विजयी हुने अपेक्षा गरिएको छ ।
अर्कोतर्फ देशको प्रमुख प्रतिपक्षी दल बंगलादेश नेसनलिस्ट पार्टी अर्थात् बीएनपी र उनको विचारधारामा सहमत धेरै दलले यो निर्वाचन बहिष्कार गरेका छन् ।
यी दलहरूले चुनावको पूर्वसन्ध्या र निर्वाचनको दिन बन्दका लागि अपिल गरेका छन् । आइतबार बिहान केही बिएनपी समर्थकहरूले हडतालको पक्षमा धेरै ठाउँमा र्याली गरेको देखिएकाे थियो।
प्रधानमन्त्री शेख हसिनाले केही समयअघि ढाकाको सिटी कलेज सेन्टरमा गएर मतदान गरेकी थिइन् । उनी गोपालगञ्ज–३ बाट चुनाव लड्दै छिन् । उनको साथमा उनकी छोरी साइमा वाजेद र बहिनी शेख रेहाना पनि भोट हाल्न आएकी थिइन् ।
के भनिन् शेख हसिनाले ?
मतदानपछि प्रधानमन्त्री शेख हसिनाले सबै मतदातालाई मतदान केन्द्रमा गएर मतदान गर्न अपिल गरेकी छन् ।
प्रमुख विपक्षी दल बीएनपीले चुनाव बहिष्कार गर्ने गरेको अपिलको जवाफ दिँदै शेख हसिनाले आफ्नो मतदानपछि पत्रकारहरूलाई भनिन्, "आतंकवादी संगठनलाई मैले आफ्नो स्वीकृति कसलाई प्रमाणित गर्ने? यो आवश्यक छैन। म जनतालाई प्रमाणित गर्नेछु। जनताले स्वीकार गर्छन् कि गर्दैनन् हेर्नुहोस्।"
"उनीहरू (विपक्षी दलहरू) के भन्छन् मलाई वास्ता छैन। म देशमा लोकतन्त्र कायम होस् भन्ने सुनिश्चित गर्न सक्दो प्रयास गर्नेछु। म सधैं विश्वस्त छु किनभने मलाई थाहा छ जनता मसँग छन्। इन्शाअल्लाह, हामी चुनाव जित्नेछौं। यसमा कुनै शंका छैन।"
उनले भनिन्, "हाम्रो देश सार्वभौमसत्ता सम्पन्न र स्वतन्त्र छ। हामीसँग ठूलो जनसङ्ख्या छ। हामीले जनताको लोकतान्त्रिक अधिकार स्थापित गरेका छौं। म यो देशमा लोकतन्त्र कायम होस् भन्ने सुनिश्चित गर्न चाहन्छु।"
करिब १२ करोड मतदाता
यस निर्वाचनमा कुल मतदाता संख्या ११ करोड ९३ लाख छ । यसपटक २७ राजनीतिक दलका एक हजार ९६९ उम्मेदवार चुनावी मैदानमा छन् ।
बंगलादेशको निर्वाचन आयोगले नोभेम्बर १५ मा १२ औं संसदीय निर्वाचनको कार्यक्रम घोषणा गरेको थियो । उम्मेदवारी दर्ता गर्ने अन्तिम मिति नोभेम्बर ३० थियो ।
निर्वाचनमा हिंसा हुन नदिन बिजीबी, र्याब र प्रहरी ४० हजारभन्दा बढी परिचालन गरिएको छ ।
स्थानीय सञ्चारमाध्यमका अनुसार गत डिसेम्बर १८ देखि जनवरी ५ सम्म चुनावी हिंसाका १ सय ५६ घटना भएका छन् । ढाकामा शुक्रबार राति एउटा रेलमा आगजनी हुँदा चार जनाको मृत्यु भएको छ ।