एजेन्सी । अमेरिकाको न्यु जर्सीस्थित नेवार्क मस्जिद बाहिर एक इमामको गोली हानी हत्या गरिएको छ ।समाचार एजेन्सी रोयटर्सका अनुसार यस हमलाको मनसाय अहिलेसम्म खुल्न सकेको छैन।
न्यु जर्सीका महान्यायाधिवक्ता म्याथ्यू प्लाटकिनका अनुसार अहिलेसम्मको अनुसन्धान र प्रमाणले गोली हानेर पूर्वाग्रहबाट प्रेरित अपराध वा आतंकवादको कोणबाट भएको संकेत देखिएको छैन ।
बुधबार हत्या गरिएका इमामको नाम हसन सरिफ हो ।
बुधबार एक पत्रकार सम्मेलनमा एसेक्स काउन्टीका वकिल थिओडोर स्टेफन्सले शरीफलाई बिहान ६ बजेतिर धेरै पटक गोली हानिएको बताए। त्यतिबेला उनी आफ्नो कारमा मस्जिदबाहिर थिए । त्यहाँबाट उनलाई अस्पताल लगिएको थियो, जहाँ दिउँसो उनको मृत्यु भएको थियो ।
प्लाटकिनले भने, ‘न्यु जर्सीका धेरै मानिसहरू आजकल डरमा बाँचिरहेका छन्।’
अक्टोबर ७ मा इजरायलमा हमासको हमला र त्यसपछि इजरायलको कारबाहीपछि अमेरिकामा पनि इस्लामोफोबिकका घटना बढेको रोयटर्सले लेखेको छ । जसका कारण अमेरिकी सुरक्षा विभागले विभिन्न धर्म मान्ने मानिसहरूलाई सतर्क रहन आग्रह गरेको थियो।