काबुल । सन् २०२३ मा युद्धग्रस्त अफगानिस्तानको निर्यात करिब दुई अर्ब अमेरिकी डलर पुगेको छ । उद्योग तथा वाणिज्य मन्त्रालयका प्रवक्ता अखुन्दजादा अब्दुल सलाम जवादले दिएको जानकारीअनुसार गत वर्ष सन् २०२३ मा अफगानिस्तानको निर्यातको मात्रा १.९ अर्ब अमेरिकी डलर पुगेको छ ।
यसैगरी सन् २०२२ मा निर्यातको मात्राको तुलनामा ४१ मिलियन अमेरिकी डलर (दुई प्रतिशत)ले वृद्धि भएको निजी टेलिभिजन च्यानल टोलोन्युजले जावादलाई उद्धृत गर्दै उल्लेख गरेको छ ।
अधिकांश सामान पाकिस्तान, भारत, चीन, संयुक्त अरब इमिरेट्स, कजाकिस्तान र उज्वेकिस्तानमा निर्यात भएको अधिकारीलाई उद्धृत गर्दै सञ्चारमाध्यमले जनाएको छ ।
यसअघि अफगानिस्तानको कामचलाउ सरकारका उद्योग तथा वाणिज्य मन्त्री नुरुद्दीन अजीजीले अफगानिस्तानले आफ्ना उत्पादन छिमेकी राष्ट्रलगायत ६० भन्दा बढी देशमा निर्यात गर्ने बताएका थिए ।
अफगानिस्तानका प्रमुख निर्यात हुने वस्तुहरूमा कोइला, केसर, ताजा र सुक्खा फलफूल, हातले बुनेको गलैंचा, बहुमूल्य पत्थर धातुहरू रहेका छन् ।