एजेन्सी । उत्तर कोरियाको सरकारी मिडियाका अनुसार देशले आफ्नो सेनालाई बलियो बनाउने उद्देश्यले अर्को वर्ष थप तीनवटा जासुसी उपग्रह प्रक्षेपण गर्ने घोषणा गरेको छ । उत्तर कोरियाले गत महिना एउटा जासुसी उपग्रह अन्तरिक्षमा पठाएको थियो ।
कोरियाको सत्तारुढ वर्कर्स पार्टीको वर्षअन्तको बैठकमा देशका नेता किम जोङ उनले सन् २०२४ को लक्ष्य तय गरेका छन् । उनले आणविक महत्वाकांक्षालाई अघि बढाउन आफूसँग अर्को विकल्प नभएको बताए ।
उनले पनि सन् २०२४ मा दक्षिण कोरियासँगको आफ्नो देशको सम्बन्धमा ‘आधारभूत परिवर्तन’ देख्ने बताएका छन् ।
उनले आफ्नो देशको दक्षिण कोरियासँग विलय अब सम्भव नभएको बताए । उनका अनुसार दक्षिण कोरियाले आफ्नो देशलाई शत्रुजस्तै व्यवहार गर्छ ।
किम जोङ उनले यस्तो कुरा गरेको सायद यो पहिलो पटक हो । विज्ञहरूले यसलाई उत्तर कोरियाको नीतिमा आधिकारिक परिवर्तनका रूपमा लिएका छन्।