काठमाडौं : नेपाल प्रो क्लब च्याम्पियनसिप टी–२० क्रिकेटमा शुक्रबार सेमिफाइनलका खेल हुँदैछन्। नारायणी रंगशाला वीरगञ्जमा बिहान सवा ९ बजे शुरु हुने पहिलो सेमिफाइनल खेलमा नेपाल आर्मी क्लब र पर्सा–११ बीच प्रतिस्पर्धा हुँदैछ।
आर्मी तालिकाको शीर्ष स्थानमा रहँदै सेमिफाइनल प्रवेश गर्दा पर्सा–११ ले चौथो स्थानमा रहँदै सेमिफाइनलमा स्थान बनाएको थियो । आर्मीले प्रतियोगिताका सबै पाँच खेलमा जित निकालेको थियो भने पर्साले २ खेलमा जित निकालेको थियो।
शुक्रबार दिउँसो सवा १ बजे दोस्रो सेमिफाइनल खेल हुँदैछ। समूह चरणमा दोस्रो बनेको नेपाल पुलिस र तेस्रो स्थानमा रहन सफल भारतको वन्डर क्लब नोएडाबीच प्रतिस्पर्धा हुँदैछ।
पुलिसले पाँचमध्ये ४ खेलमा जित निकाल्दै ८ अंक जोडेको छ भने नोएडाले २ खेल जितेर ४ अंक जोडेको छ। प्रतियोगितामा दुई खेलमा जित निकालेको एपीएफ भने नेट रनरेटको आधारमा पाँचौ स्थानमा रह्यो भने भारतको उत्तर प्रदेश क्लब–११ जितविहीन हुँदै प्रतियोगिताबाट बाहिरियो।