सुर्खेत। सुर्खेतमा पुस १२ गतेदेखि टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ । सुर्खेतसहित भूकम्प प्रभावित जिल्लामा टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन हुने भएको हो।
सुर्खेतमा टाइफाइडविरुद्धको खोप अभियान दुई चरणमा सुरु हुनेछ । खोप सञ्चालन गर्नका लागि आवश्यक औषधि र जनशक्ति व्यवस्थापनका सम्पूर्ण तयारीहरु पूरा भएको जिल्ला स्वास्थ्य कार्यालय सुर्खेतका प्रमुख गणेशभक्त गौतमले बताए ।
‘पहिलो चरण पुस १२ गतेदेखि १५ गतेसम्म जिल्लाका लेकवेशी नगरपालिका, चिङ्गाड गाउँपालिका, चौकुने गाउँपालिका, पञ्चपुरी नगरपालिका र बराहताल गाउँपालिकामा सञ्चालन गरिनेछ ।’ उनले भने,‘दोस्रो चरण पुस २१ गतेदेखि २५ गतेसम्म वीरेन्द्रनगर नगरपालिका, भेरीगंगा नगरपालिका, गुर्भाकोट नगरपालिका र सिम्ता गाउँपालिकामा खोप अभियान सञ्चालन गरिनेछ ।’
टाइफाइडविरुद्ध खोप अभियानबाट सुर्खेतका १६ देखि ४५ वर्ष उमेर समूहका दुई लाखभन्दा बढी नागरिकलाई खोप लगाउने लक्ष्य राखिएको र खोप अभियानमा करिब दुई हजार स्वास्थ्यकर्मी तथा स्वयंसेवक परिचालन हुने जिल्ला जन स्वास्थ्य कार्यालयका खोप फोकल पर्सन उदय विसीले बताए ।