काठमाडौँ । गत मंसिर २१ गते राति दुबई हुँदै आएका गोरखाका चन्द्र घलेबाट बरामद १४ किलो सुन प्रकरणपछि त्रिभुवन विमानस्थल भन्सार कार्यालयले बनाएको छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएको छ।
आइतबार पत्रकार सम्मेलन गरी १४ किलो सुनबारे छानविन गर्न गठित समितिले तस्करी प्रकरणको प्रतिवेदन बुझाउँदै सो समूहले पटक-पटक गरी १ सय ३८ किलो सुन भित्र्याएको ठहर गरेको हो ।
भन्सार कार्यालयका प्रमुख टोकराज पाण्डेले अहिलेसम्म मुख्य नाइके मीनबहादुर गुरुङ समूहले १३८ किलो सुन तस्करी गरेको बताए । ‘मिन बहादुर घलेले दुबईमा तथाकथित अंकित अग्रवाल नाम गरेको व्यक्तिसँग सम्पर्क राखी नेपालमा सुन तस्करी गर्न चाँजोपाँजो मिलाउने गरेको देखियो । मिन बहादुर घले स्वयंम तथा चन्द्र घले र कृष्ण कुमार श्रेष्ठ समेतले पटक–पटक दुबईबाट सुन लिई आउने गरेको अनुसन्धानबाट खुल्न आयो । घलेले एयरपोर्टको सेटिङ् मिलाउन डि.वी. भन्ने दन बहादुर गुरुङ्गलाई प्रयोग गरेको देखिन आयो ।’ उनले भने ।
मीनबहादुर स्वयम् तथा १४ किलो सुनसहित समातिएका चन्द्र घले र कृष्णकुमार श्रेष्ठ समेतले पटक-पटक दुबईबाट सुन लिएर आउने गरेको अनुसन्धानबाट खुलेको प्रतिवेदनमा उल्लेख छ।
घलेले एयरपोर्टको सेटिङ मिलाउन डिवी भन्ने दानबहादुर गुरुङलाई प्रयोग गरेको देखिएको समितिले निष्कर्ष निकालेको छ।