एजेन्सी । भारतीय क्रिकेटमा अहिले जुन आँधी उठेको छ, त्यो टिम इन्डियासँग नभई आईपीएलको सबैभन्दा सफल टिम मुम्बई इन्डियन्ससँग सम्बन्धित छ । विवादको केन्द्रबिन्दु भारतका चर्चित खेलाडीमध्ये एक हुन्– रोहित शर्मा ।
मुम्बई इन्डियन्सको व्यवस्थापनले हालै रोहित शर्माको स्थानमा हार्दिक पाण्डेयलाई अर्को सिजन टोलीको कप्तान बनाउने घोषणा गरेसँगै इन्टरनेटमा भूकम्प आयो र मुम्बई इन्डियन्सका लाखौं फलोअर्सले टोली छाडेका छन् । समर्थकले यो निर्णयको चर्को विरोध जनाएका छन् ।
मुम्बई इन्डियन्सले सामाजिक सञ्जालको एक्स र इन्स्टाग्राम ह्यान्डलहरूमा लाखौं प्रशंसकहरू गुमाए। पहिलो दिन मात्रै चार लाख मानिसले मुम्बई इन्डियन्सलाई अनफलो गरेका थिए ।
त्यस्ता तस्विरहरू इन्टरनेटमा पनि भाइरल भएका थिए जसमा फ्यानहरूले मुम्बई इन्डियन्सको जर्सी र क्यापमा आगो लगाएको देखिएका थिए।
फ्यानहरुको आफ्नै असन्तुष्टि प्रष्ट देखिएको छ भने पूर्व क्रिकेटरहरुले पनि यो कदममा आश्चर्य व्यक्त गरेका छन् ।
पूर्व भारतीय क्रिकेटर इरफान पठानका अनुसार मुम्बई इन्डियन्सको टोलीमा रोहित शर्माको स्थान चेन्नई सुपर किंग्समा महेन्द्र सिंह धोनीको स्थान जस्तै छ।
उनले स्टार स्पोर्ट्ससँगको एक अन्तर्वार्तामा भने, ‘टोलीमा रोहित शर्माको स्थान निकै उच्च छ, मेरो विचारमा धोनीको चेन्नईको लागि त्यही स्थिति छ । रोहित शर्माले आफ्नो रगत र पसिनाले मुम्बईको टोली बनाएका छन् र कप्तानको रूपमा उनले ठूलो योगदान दिएका छन्।’
यसैबीच मुम्बई इन्डियन्सका सहकर्मी तथा र हालको भारतीय टी २० कप्तान सूर्यकुमार यादवले सामाजिक सञ्जालमा टुटेको हृदयको इमोजी साझा गरे जुन भाइरल भयो।
जबकि पूर्व भारतीय कप्तान सुनिल गावस्करले मुम्बईको यो निर्णयको समर्थन गर्दै रोहित शर्मा थकित देखिन्छन् र टीमलाई नयाँ सोचको आवश्यकता रहेको बताए।
उनले स्टार स्पोर्ट्सलाई भने, ‘यसमा के सहि र के गलत हो भनेर हेर्नु हुँदैन, बरु यो निर्णय टोलीको हितका लागि लिइएको हो भन्ने बुझ्नुपर्छ । ब्याटमा रोहितको योगदान पनि घटेको थियो।’
मुम्बईका लागि रोहितको कीर्तिमान
रोहित शर्मालाई आईपीएलको इतिहासमा सबैभन्दा सफल कप्तानको रूपमा हेरिन्छ । उनले मुम्बई इन्डियन्सलाई पाँचपटक आईपीएलको उपाधि चुमाइसकेका छन् । उनले सन् २०११ देखि मुम्बई इन्डियन्सका लागि खेल्न सुरु गरेका थिए । आफ्नो पहिलो सहभागितामै उनले टोलीका लागि ३३.८१ को औसतले कुल तीन सय ७२ रन बनाएका थिए ।
हालसम्म उनले आईपीएलमा मुम्बई इन्डियन्सका लागि ३१ को औसतले कुल पाँच हजार दुई सय ३० रन बनाएका छन् । आईपीएलमा उनले एक शतक र ४० वटा अर्धशतक पनि प्रहार गरिसकेका छन् । आईपीएलमा उनको स्ट्राइक रेट १३० रहेको छ ।
रोहित शर्मालाई सन् २०१३ मा मुम्बई इन्डियन्सले कप्तान बनाएको थियो । आफ्नो समयका चर्चित अस्ट्रेलियन खेलाडी रिकी पोन्टिङले बिचमै कप्तानी छाडेपछि मुम्बई इन्डियन्सले उक्त जिम्मेवारी रोहित शर्मालाई दिएको थियो ।
त्यसपछि रोहित शर्माको कप्तानीमा मुम्बई इन्डियन्सले सन् २०१३, सन् २०१५, सन् २०१७, सन् २०१९ र सन् २०२० मा आईपीएलको उपाधि जितेको थियो । उनको कप्तानीमा मुम्बई इन्डियन्सले एक सय ५८ खेल खेलेको छ । त्यसमध्ये मुम्बई इन्डियन्स ८७ खेलमा विजयी र ६७ खेलमा पराजित भएको छ ।
कारण के हो ?
क्रिकेट विज्ञहरूले टोली र रोहितको फर्मको कारण बताइरहेका छन् । मुम्बई इन्डियन्सले दुई वर्षअघि हार्दिक पाण्ड्यालाई गुजरातको टोलीका लागि रिलिज गरेको थियो । हार्दिकले नयाँ टोलीलाई पहिलो सिजनमै च्याम्पियन बनाएको थियो भने गत वर्ष गुजरात दोस्रो स्थानमा थियो।
यी वर्षहरूमा मुम्बईले खास केही गर्न सकेन र दुवै पटक फाइनलसम्म पुग्न सकेन। टोलीले अन्तिम पटक २०२० मा च्याम्पियनसिप जितेको थियो। पछिल्ला दुई वर्षमा रोहित शर्माको ब्याटबाट कम रन बनेको छ ।
सन् २०२२ मा उनले १४ खेलमा १९ को औसतमा २६८ रन बनाए भने २०२३ मा १६ खेलमा २०.७५ को औसतमा ३३२ रन बनाए । पछिल्ला दुई सिजनमा उनले एक पनि शतक नभई २ अर्धशतक मात्र बनाएका छन् ।
यसका अतिरिक्त सन् २०२२ को नोभेम्बरदेखि रोहितले भारतका लागि टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता पनि खेलेका छैनन् । भारतले उनको स्थानमा हार्दिक पाण्डेयालाई नै टी–२० टोलीको कप्तान बनाउने निर्णय पनि लियो । यही कारणले नै मुम्बईले अप्रत्याशित रूपमा रोहितलाई हटाएर हार्दिकलाई टोलीको कप्तान बनाउने निर्णय लिएको क्रिकेट विश्लेषकहरूको दाबी छ ।
केही विश्लेषकले भने अर्को तर्क पनि अघि सारेका छन् । उनीहरूका अनुसार, रोहित, विराट कोहली र जडेजाजस्ता केही प्रभावशाली खेलाडीलाई भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) आगामी केही समय टी–२० प्रतियोगिताबाट आराम दिएर केवल एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगितामा मात्र केन्द्रित गराउन चाहन्छन् । यसका अर्थ टी–२० प्रतियोगितामा यी खेलाडीहरूको खेलजीवन सकियो भन्ने पनि होइन ।
अब के हुन्छ ?
अब सबैको नजर रोहित शर्माको अर्को कदममा टिकेको छ । उनले हार्दिकको कप्तानीमा खेल्नेछन् वा अन्य कुनै टोलीबाट खेल्न चाहन्छन् जहाँ उनले पनि कप्तानी पाउन सक्छन् ।
चेन्नई सुपर किंग्सले रोहितलाई सलाम गर्दै पोस्ट गर्दा रोहित शर्माकी पत्नी ऋतिकाले पनि लाइक गरेकी थिइन् ।
आईपीएलको लिलामी डिसेम्बर १९ मा भएको छ भने आज (डिसेम्बर २०)मा ट्रान्सफर विन्डो फेरि खुलेको छ। सबै टोलीले आफ्नो टोलीलाई अझ बलियो बनाउने मौका पाउनेछन्। यस्तो अवस्थामा केही टोलीले रोहित शर्माको नाम लिँदा अचम्म मान्नुपर्दैन ।
मुम्बईले रोहित शर्मालाई २०२२ मेगा लिलामीमा १६ करोडमा रिटेन गरेको थियो, त्यसैले उनलाई ट्रेड गर्न चाहने कुनै पनि टोलीसँग कम्तिमा १६ करोड रुपैयाँ हुनुपर्छ।