तेहरान । इरानको दक्षिणपूर्वी प्रान्त सिस्तान–बलुचिस्तानको एक प्रहरी चौकीमा इस्लामिक सुन्नी जिहादी समूहले गरेको आक्रमणमा परी कम्तीमा ११ जना इरानी प्रहरी अधिकारीको मृत्यु भएको छ ।
“रास्क सहरमा रहेको प्रहरी मुख्यालयमा ‘आतंकवादी जिहादी समूह’ले गरेको आक्रमणमा ११ प्रहरीको मृत्यु भएको छ भने अन्य केही अधिकारी घाइते भएका छन्,’ प्रान्तका उप–प्रशासक अलिरेजा मरहमतीले भने ।
सुरक्षा फौजसँग भएको गोली हानाहानमा कैयौँ आक्रमणकारीको पनि मृत्यु भएको टेलिभिजन च्यानलले जनाएको छ ।
अफगानिस्तान र पाकिस्तानसँग जोडिएको इरानको सीमा नजिकको क्षेत्रमा मध्यरातमा भएको यो आक्रमण केही वर्षयताकै सबैभन्दा घातक आक्रमण हो ।
यसको जिम्मेवारी सुन्नी जिहादी जैश अल अदल (आर्मी अफ जस्टिस) समूहले लिएको टिभी रिपोर्टमा उल्लेख छ । सन् २०१२ मा गठन भएको जैश अल अदललाई इरानले ‘आतंकवादी’ समूहको रूपमा कालोसूचीमा राखेको छ ।
अफगानिस्तानसँग सीमा जोडिएको सिस्तान–बलुचिस्तान प्रान्तमा भएको अशान्तिमा लागुऔषध तस्करी गर्ने गिरोह, बलुची अल्पसंख्यकका विद्रोही र सुन्नी मुस्लिम अतिवादीहरू संलग्न छन् ।
यसअघि पनि जुलाई २३ मा गस्तीमा रहेका चार जना प्रहरीको मृत्यु भएको थियो ।
सिस्तान–बलुचिस्तान प्रान्तमा भएको जैश अल अदल समूहले दाबी गरेको सशस्त्र झडपमा दुई प्रहरी र चार आक्रमणकारी मारिएको दुई हप्तापछि यो घटना भएको हो ।
गत मे महिनामा सिस्तान–बलुचिस्तानको प्रान्तीय राजधानी जाहेदानको दक्षिणपूर्वमा रहेको सरवनमा सशस्त्र समूहसँग भएको झडपमा पाँच जना इरानी सीमा रक्षकको मृत्यु भएको थियो ।
सरकारी सञ्चारमाध्यमका अनुसार उक्त आक्रमण ‘देशमा घुसपैठ गर्न खोज्ने आतंकवादी समूहले’ गरेको थियो तर जसका सदस्यहरू’ घाइते अवस्थामा घटनास्थलबाट भाग्न सफल भएका थिए ।