एजेन्सी । अमेरिकाले गाजा युद्धमा इजरायलको कार्यशैलीको आलोचना गरेको छ । इजरायलले आम जनताको सुरक्षाका लागि गरेको वाचा र गाजामा जमिनमा भइरहेको अवस्थाबीच ठूलो अन्तर रहेको पनि अमेरिकाले गुनासो गरेको छ ।
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिकनले वासिङ्टनमा आयोजित पत्रकार सम्मेलनमा सर्वसाधारणलाई सुरक्षित क्षेत्रका बारेमा स्पष्ट जानकारी दिनुपर्ने बताए ।
उनले यी मानिसहरूलाई खाद्यान्न र औषधि जस्ता आधारभूत आवश्यकताहरू उपलब्ध गराउनुपर्ने बताए। ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँगको फोन वार्तामा राष्ट्रपति बाइडेनले सर्वसाधारणको ज्यान जोगाउनुपर्नेमा जोड दिएको बताइएको छ ।
अहिलेसम्म इजरायलले आम जनताको जनधनको क्षति कम गर्नका लागि आवश्यक सबै कदम चालेको बताउँदै आएको छ ।
अर्कोतर्फ, हमासले गाजामा इजरायलको सैन्य कारबाहीका कारण विगत दुई महिनामा महिला र बालबालिकासहित १७ हजारभन्दा बढीको ज्यान गएको जनाएको छ ।