भरतपुर । प्रधानमन्त्री कपका लागि भएको बागमती प्रदेश महिला क्रिकेट छनोट प्रतियोगिताको उपाधि काठमाडौंले हात पारेको छ । चितवनको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा आज भएको लालितपुर र काठमाडौंबीचको फाइनल खेलमा ललितपुरलाई ४ विकेटले पराजित गर्दै काठमाडौं क्रिकेट सङ्घले उपाधि हात पारेको हो ।
सुरुआती ब्याटिङ गरेको ललितपुरले नौ विकेटको क्षतिमा ५४ रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको काठमाडौँले १६ दशमल एक ओभरमा ६ विकेटमा लक्ष्य पूरा गरेर उपाधि हात पा¥यो । प्रतियोगिताको समापन गर्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा अब नियमित खेल गतिविधि हुने बताए । उनले नियमित खेल गर्न सङ्घ, प्रदेश र भरतपुर महानगरपालिकाबीच केही दिनमा सम्झौता हुने जानकारी दिए ।
रङ्गशालामा खेल गतिविधि नियमित गर्न एक चरणको छलफल र सहमति भइसकेको प्रमुख दाहालले बताए । क्रिकेट रङ्गशालाको पहिलो चरणको निर्माण कार्यका लागि ७० प्रतिशत बागमती प्रदेश र ३० प्रतिशत भरतपुर महानगर गर्ने सहमति भएको छ । पहिलो चरणमा रु ७५ करोडको काम हुने जनाइएको छ । ‘क्रिकेट रङ्गशाला बन्नेमा दुई मत छैन’, उनले भने, ‘केही दिनभित्र जग्गाको स्वामित्वको विषयमा दुई विश्वविद्यालयबाट सहमति पत्र आउँदैछ । एक महिनाभित्र निर्माण सुरु गर्ने गरी टेण्डरको काम हुँदैछ ।’
प्रमुख दाहालले क्रिकेट रङ्गशालाको अन्य संरचनालाई पनि सञ्चालन हुने गरी सरसफाइको कार्य अघि बढ्ने बताए । नेपाल क्रिकेट सङ्घका केन्द्रीय सचिव तथा बागमती प्रदेशका अध्यक्ष पारस खड्काले निकट भविष्यमा गौतमबुद्ध क्रिकेट रङ्गशालामा अन्तर्राष्ट्रिय खेल खेल्ने सम्भावना बढ्दै गएको उल्लेख गरे ।