काठमाडौँ। विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ११ रनले पराजित गर्दै मधेश प्रदेश केपी ओली कप टी-२० प्रतियोगिताको फाइनलमा पुगेको छ।
पोखरा रंगशालास्थित क्रिकेट मैदानमा बिहीवार मधेशले दिएको १९८ रनको लक्ष्य पछ्याएको एपिएफले २० ओभर ब्याटिङ गरेर ९ विकेट गुमाउँदै १८६ रन मात्र बनाएर ११ रनले पराजित भयो।
एपिएफका लागि कप्तान प्रदीप ऐरीले ४२ बलमा ४ छक्का र ३ चौकाको मद्दतले सर्वाधिक ५५ रन बनाए। सन्दीप जोराले ३१ बलमा ५ छक्का र ३ चौका हान्दै ५४ रन बनाए।
लोकेश बमले ३२ रन, भुवन कार्कीले अविजित १४ रन र सुमित महर्जनले १३ रन बनाए। तेस्रो विकेटका लागि प्रदीप र सन्दीपले १०६ रनको साझेदारी गरे।
मधेशका लागि विशाल पटेलले ३ र प्रदीप पासवान तथा कप्तान हरिशंकर शाहले २/२ विकेट लिए।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको मधेशले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १९७ रन बनाएको थियो।
मधेशका लागि अनिल शाहले ३७ बलमा ६ छक्का र २ चौकाको मद्दतले सर्वाधिक ५७ रन बनाए। यसैगरी इमरान शेखले ३२ बलमा ४ छक्का र ३ चौकाको मद्दतले ५०, पवन सराफले ३३, रुपेश सिंहले २१ र हिमान्सु दत्तले १५ रन बनाए।
दोस्रो विकेटका लागि अनिल र इमरानले ९२ रनको साझेदारी गरे।
एपिएफका लागि श्याम ढकालले ३, अमरसिंह रौतेलाले २ र पूर्ण बिकले १ विकेट लिए।
मधेश समूह ‘सी’ र एपिएफ समूह ‘बी’ को विजेता हुँदै सेमिफाइनल प्रवेश गरेका थिए।
मधेशले उपाधिका लागि अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ। आर्मीले बिहीवार नै भएको पहिलो सेमिफाइनलमा बागमती प्रदेशलाई ४ विकेटले पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो।