एजेन्सी । घरेलु टोली नामिबियाले आइसिसी टि२० विश्वकप अफ्रिका छनोटमा तान्जानियालाई ५८ रनले हराउँदै विश्वकप २०२४ मा स्थान बनाएको छ । लगातार पाँचौं जितका साथ तेस्रो पटक विश्वकपमा स्थान बनाएको हो । नामिबियाले यसअघि २०२१ र २०२२ को विश्वकप खेलेको थियो ।
जितको लागि १ सय ५८ रनको विजयी लक्ष्य पछ्याएको तान्जानिया २० ओभरमा ६ विकेट गुमाउँदै ९९ रन बनायो । तान्जानियाका अमल राजिवन ४५ बलमा सर्वाधिक ४१ रन बनाए । नामिबियाका कप्तान जेरार्ड इरास्मसले २ र डेविड विजाले १ विकेट लिए ।
टि२० विश्वकप २०२४ मा अमेरिका र वेस्टइन्डिजमा संयुक्त रुपमा आयोजना हुनेछ । सहभागी २० मध्य १९ टोलीको टुङ्गो लागेको छ ।
अमेरिका, वेस्टइन्डिज, अष्ट्रेलिया, इंग्ल्यान्ड, भारत, नेदरल्यान्ड्स, न्युजिल्यान्ड, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलंका, अफगानिस्तान, बंगलादेश, आयरल्यान्ड, स्कटल्यान्ड, पपुवा न्युगिनी, क्यानडा, नेपाल, ओमान र नामिबियाले विश्वकपमा स्थान बनाई सकेका छन् ।