काठमाडौँ । सोह्रौँ ढोरपाटन महिला भलिबल डबल लिग च्याम्पियनसिप माघको दोस्रो सातादेखि शुरु हुने भएको छ।
आयोजक ढोरपाटन स्पोर्टस् क्लबले मंगलवार पत्रकार सम्मेलन आयोजना गरी महिला भलिबलको बहुप्रतीक्षित प्रतियोगिता माघ १२ देखि २२ गतेसम्म सञ्चालन गर्ने जानकारी दिएको हो। प्रतियोगिता नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्टस् क्लबको खेलमैदानमा सञ्चालन हुनेछ। १५औं प्रतियोगिता २०७६ सालमा आयोजना भएको थियो। कोरोना महामारीलगायत आर्थिक संकट भएपछि तीन वर्षसम्म प्रतियोगिता आयोजना हुन सकेन।
मंगलवार आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष मनवीर छन्त्यालले पनि कोरोना महामारी, आर्थिक संकट र नेपाल भलिबल संघको चुनावका प्रतियोगिता गर्न नसकिएको उल्लेख गरे। लामो समयपछि प्रतियोगिता फर्काउन पाउँदा खुसी लागेको उनले बताए। यस वर्ष हुने प्रतियोगितामा ९ टोली सहभागी हुने सम्भावना रहेको अध्यक्ष छन्त्यालले जानकारी दिए।
तयारीका लागि उपत्यका बाहिरका टोलीलाई ८० हजार, न्यु डायमण्ड क्लबलाई ५० हजार र अन्य क्लवलाई ३० हजार प्रदान गर्ने आयोजकले जनाएको छ। यस प्रतियोगितामा सबैभन्दा सफल सशस्त्र प्रहरी बलको एपिएफ क्लबले सातपटक र पोखराको ज्ञानुबाबा स्कुलले पाँचपटक उपाधि जितेका छन्।
नेपाल पुलिस क्लब र रिड मोडल कलेज एक÷एकपटक विजयी भएका छन्। पहिलो संस्करणमा पुरुषहरूको प्रतिस्पर्धा हुँदा त्रिभुवन आर्मीले जितेको थियो। हालसम्म ४३ महिला खेलाडी र तीन दर्शकले पुरस्कारबापत स्कुटर जितेका छन्।
योपटक प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई मात्र स्कुटर प्रदान गर्ने आयोजकले जनाएको छ। यस पटक प्रतियोगिताको पुरस्कार राशिमा भने वृद्धि हुँदा विजेताले पाँच लाख १ हजार, उपविजेताले दुई लाख ५० हजार, तेस्रो हुनेले एक लाख २५ हजार, चौथोले ७५ हजार, पाँचौंले ५० हजार र छैटौं हुनेले २५ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन्।
विधागत उत्कृष्ट खेलाडीले जनही पाँच हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ। प्रतियोगिता लागि ५१ लाख पाँच हजार रुपैयाँ अनुमानित खर्च हुने आयोजकले बताएको छ।