एजेन्सी । इजरायल र हमासबीच बन्धकहरूलाई लिएर भएको सम्झौताअनुसार चार दिने अस्थायी युद्धविराम लागू भएको छ।
कतारले हमासले स्थानीय समय अनुसार शुक्रबार अपराह्न ४ बजे इजरायली बन्धकलाई रिहा गर्ने जनाएको छ ।
सम्झौताअनुसार हमासले महिला र बालबालिकासहित ५० इजरायली बन्धकहरूलाई रिहा गर्नेछ। उही समयमा, इजरायलले इजरायली जेलबाट १५० प्यालेस्टाइनी बन्दीहरूलाई रिहा गर्नेछ, जसमा महिला र किशोर किशोरीहरू समावेश हुनेछन्।
हमासले अक्टोबर ७ मा भएको आक्रमणपछि २ सय ४० इजरायलीलाई बन्धक बनाएको थियो ।
हमासको विज्ञप्ति अनुसार यी चार दिनमा मानवीय सहायता, औषधि र इन्धन बोकेका सयौं ट्रक गाजा प्रवेश गर्नेछन्। इजरायलले न त कुनै आक्रमण गर्नेछ न त कसैलाई गिरफ्तार गर्नेछ।
यस सम्झौतामा कतार, इजिप्ट र अमेरिकाको महत्वपूर्ण भूमिका रहेको छ ।