काठमाडौँ : सरकारले १ सयदेखि ३ सयसम्म बेड भएका सरकारी अस्पतालमा नर्सिङ र पारामेडिक्स पढाउने निर्णय गरेको छ। स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले बुधवार काठमाडौंमा आयोजित कार्यक्रममा स्वास्थ्य मन्त्रालयले सो निर्णय गरेको जानकारी दिएका हुन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल र सम्बन्धित निकायसँग पटकपटक छलफल गरेपछि आफूले सो नीतिगत निर्णय लिएको उनको भनाई थियो। मन्त्री बस्नेतले नेपालमा पढ्न नसक्ने र बाहिर पनि जान नसक्नेहरु डिप्रेशनमा जाने क्रम बढेपछि आफूले चिकित्सा शिक्षा अध्ययनका लागि क्रान्तिकारी रुपान्तरण नै हुने गरी सो निर्णय लिएको पनि दोहोर्याए।
उनले सो निर्णय कार्यान्वयनका लागि सम्बन्धित अस्पतालहरुसँग सुझाव लिन शुरु गरेको बताए। मन्त्री बस्नेतले ३ सयभन्दा बढी बेड भएका सरकारी अस्पतालमा भने एमबीबीएसको पनि पठनपाठन हुने गरी सम्बन्धित निकायसँग छलफल गरेको पनि बताए।
‘बाहिर जान नसक्ने, यहाँ पढ्न नसक्ने अवस्था भएपछि हाम्रा भाइबहिनीहरु डिप्रेशनको शिकार हुन थाले र डिप्रेशन भयो भनेर दिनैपिच्छे कम्तिमा १ जना र बढीमा ६ जनासम्म मकहाँ आउन थालेका छन्। अब हामीले पनि नीतिगत रुपमा केही निर्णय नगरि भएन भनेर मैले सुधारका कुराहरु लिएर क्याबिनेटमा २/३ महिनाअगाडि लगेको थिएँ र सम्माननीय प्रधानमन्त्रीज्युले शिक्षा, स्वास्थ्यमन्त्री र सचिवजीहरु, चिकित्सा शिक्षा आयोगसँग बसेर पटक पटक छलफल गर्नुभयो‚’ उनले भने, ‘अहिले त्यो प्रक्रिया अघि बढिसकेको छ मैले अघि नै भनेँ। त्यतिले मात्र पनि यो समस्या हुने देखेर हामीले हिजो मंगलवार एउटा निर्णय गर्यौँ। १ सयदेखि ३ सय बेडसम्म चलेका संघीय वा प्रादेशिक वा स्थानीय तहका सरकारी अस्पतालहरुमा पारामेडिक्स र नर्सिङ पढ्नका लागि खुला गर्ने र आजै चिठी लेखेर राय पनि मागिसक्यौं। ३ सयभन्दा बढी बेड भएकामा भने पारामेडिक्स र नर्सलगायत एमबीबीएसको कक्षा पनि सञ्चालन गर्ने अनुमति दिनेबारे आयोगलाई पनि पत्राचार गर्ने भएका छौं।’
मन्त्री बस्नेतले आफूले स्वास्थ्य क्षेत्रमा पर्याप्त सुधारको काम गरेको र त्यसका लागि बजेटको अभाव हुन नदिने दाबीसमेत गरे।