एजेन्सी । हमासका नेता इस्माइल हानियाले आफ्नो समूह इजरायलसँग युद्धविराम सम्झौताको नजिक पुगेको बताएका छन् । हमासले जारी गरेको विज्ञप्तिमा उक्त समूहले कतारलाई आफ्नो प्रतिक्रिया दिएको बताइएको छ ।
कतारले दुई देशबीच मध्यस्थकर्ताको भूमिका निर्वाह गर्दै आएको छ । हानिया कतारमा बस्छन् । अन्तर्राष्ट्रिय रेडक्रसका अध्यक्ष पनि हाल कतार भ्रमणमा छन् । यस विषयमा पनि सम्झौता हुने अनुमान गरिएको छ ।
हमासको दाबीमा भने इजरायलकोृ कुनै प्रतिक्रिया आएको छैन । अमेरिकी राष्ट्रपति जो बाइडेनले बन्धकहरूको रिहाइसम्बन्धी सम्झौता पूरा हुने सङ्केत गरेका थिए।
इजरायल र हमासबीच करिब ६ हप्तादेखि युद्ध चलिरहेको छ । यो अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गर्दा सुरु भएको थियो । हमासका लडाकुहरूले २०० भन्दा बढी इजरायलीहरूलाई बन्धक बनाएर लगेका थिए। त्यसपछि इजरायलले गाजामा बमबारी गर्न थाल्यो । इजरायलको सेनाले पनि विगत केही दिनदेखि जमिनमा कारबाही गरिरहेको छ ।
रिपोर्टका अनुसार सम्झौता अन्तर्गत हमासले बन्धक बनाएका केही इजरायलीलाई रिहा गर्न सकिनेछ । बदलामा इजरायलले गाजामा आफ्नो कार्यहरू रोक्न र केही प्यालेस्टिनी बन्दीहरूलाई रिहा गर्न सक्छ।