काठमाडौं । मारवाडी समाजले धार्मिक एवं सामाजिक परम्परा अनुसार समाजका वन्धु वान्धवहरु भेला भई एक आपसमा शुभकामना आदान प्रदान गरी आपसी भाइचाराको सम्बन्ध अभिवृद्धिका लागि हरेक वर्ष दिपावली स्नेह मिलन समारोह मनाउँदै आइरहेकोमा यस वर्ष पनि मारवाडी सेवा समिति नेपाल, पशुपति गौशाला धर्मशाला, मारवाडी सेवा ग्राम गौधाम (धार्के) मारवाडी महिला मंच र मारवाडी युवा मंच सहित समाजका महानुभावहरुको उल्लेख्य सहभागितामा मिति २०८० कार्तिक २७ गतेका दिन अर्पण ब्याङ्क्वेट नयाँ बानेश्वरमा श्री गणेशजी, श्री महालक्ष्मीजीको तस्वीरमा माल्यार्पण एवं पुष्प अर्पण गर्दै भव्य एवं उल्लाषमय वातावरणमा मनाएकाे छ ।
मारवाडी सेवा समिति नेपालका अध्यक्ष कैलाशचन्द्र गोयलले आगन्तुक महानुभावहरुको स्वागत गर्नु हुँदै शुभ दीपावली, नेपाल सम्वत्, छठ पर्व २०८० को शुभकामना दिएका थिए । उनले आफ्नो शुभकामना मन्तव्यको क्रममा मारवाडी सेवा समिति नेपालले सामाजिक, राजनैतिक, धार्मिक, शैक्षिक, साँस्कृतिक, आर्थिक एवं प्राकृतिक आपत विपत आदिमा पुर्याउँदै आइरहेको सेवा कार्य बारे उल्लेख गर्दै जाजरकोट र पश्चिम रुकुममा केहि दिन अघि गएको विनाशकारी भूकम्पमा परी ठूलो जनधनको क्षती भएकोमा त्यस क्षेत्रमा मारवाडी सेवा समिति नेपालको तर्फबाट राहत पठाउने कार्य भइरहेको र पहिलो चरणमा फाइबरको सिरक ८३५ थान, पि. फम मेट ९०० थान र दाल १ केजी र नुन १ केजी राखेर प्याक गरिएको ४०० प्याकेट चामल हस्तान्तरण गरिएको जानकारी गराए ।
मारवाडी सेवा समिति नेपालले उत्सव एवं समारोहहरुमा विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान गर्ने महानुभावहरुलाई सम्मान गर्दै आइरहेकोमा सोही अन्तर्गत १९औं एसियन गेम्स २०२३ मा उत्कृष्ट प्रदर्शन गरेका राष्ट्रिय खेलाडीहरुको सम्मान कार्यक्रम राखिएकोमा १९ औं एसियाली खेलकुदमा पुरुष क्रिकेट तर्फ नेपाली खेलाडीहरुले एउटै म्याचमा अति नै दुर्लभ ५ वटा विश्व किर्तिमान बनाई विश्व सामु नेपाल र नेपालीको शिर उच्च पार्न सफल भएकोमा सो क्रिकेट म्याचमा ९ बलमा अर्ध शतक बनाई विश्व किर्तिमान बनाउन सफल दिपेन्द्र सिंह ऐरी र ३४ बलमा शतक बनाई विश्व किर्तिमान बनाउन सफल कुशल मल्ललाई उनीहरुको हौसला एवं सम्मान स्वरुप जनही एक लाख एक हजार नगदसहित सम्मान पत्र प्रदान गरी सम्मान गरिएको छ । साथै कराँते खेलतर्फ नेपाललाई रजत पदक दिलाई नेपालीको शिर उच्च पार्नमा सफल भएकी एरिका गुरुङलाई पनि एक लाख एक हजार नगदसहित सम्मान पत्र प्रदान गरी सम्मान गरिएको छ । कार्यक्रममा नेपाल क्रिकेट एशोसियन र क्रिकेट टिमका सम्पूर्ण खेलाडीहरुलाई सम्मान पत्रका साथै टोकन अफ लभद्वारा सम्मान गरियो । सोही अवसरमा मारवाडी समाजका सदस्यहरु एवं नेपाल राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पवन अग्रवाल र पूर्व क्रिकेटर पारस लुनियालाई सम्मान पत्रका साथै टोकन अफ लभद्वारा सम्मान गरियो । मारवाडी सम्मान कार्यक्रमको संचालन मारवाडी युवा मंचका महासचिव प्रकाश कुमार केजरीवालले गरेका थिए ।
कार्यक्रममा नेपाल राष्ट्रिय मारवाडी परिषद्का अध्यक्ष पवन मित्तल, मारवाडी महिला मंचकी अध्यक्ष अर्चना काबरा, मारवाडी युवा मंचका अध्यक्ष शैलेन्द्र शर्माले शुभकामना मन्तव्य दिएका थिए । कार्यक्रमको अन्तमा उपस्थित महानुभावहरुलाई दिपावली स्नेह मिलन समारोह–२०८० तयारी समितिका संयोजक रमेश तापड़ियाले धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रमको संचालन मारवाडी सेवा समिति नेपालका महासचिव प्रमोद कुमार अग्रवालले गरेका थिए ।