काठमाडौं । युएईले आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको सेमिफाइनल खेलमा नेपाललाई मध्यम लक्ष्य दिएको छ ।
माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको युएईले २० ओभरमा ९ विकेट गुमाउँदै १३४ रन बनाएको छ ।
युएईका लागि वृत्य अरविन्दले अर्धशतकिय पारी खेले । उनले ५१ बलमा ८ चौका र २ छक्काको मद्धतमा ६४ रन जोडे ।
कप्तान मोहम्मद वसीम र खालिद शाहले उत्कृष्ट सुरुवात गरेका थिए । वसीमले १६ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै २६ रनको योगदान गरे । यता, शाह भने ३ रन बनाउँदै रनआउट हुन पुगे ।
यस्तै, आसिफ खानले १३ रन, अलिशान शराफुले १३ रन, अली नसीरले ४ रन, बासिल हमिदले १ रन, आयान अफजल खानले १ रन, जुनैद सिद्दिकीले ३ रन बनाए ।
नेपालका लागि कुशल मल्लले सर्वाधिक तीन विकेट लिए । उनले ३ ओभरमा ११ रन खर्चेर तीन विकेट लिएका हुन् । उनले अन्तिम ओभरमा दुई विकेट लिए ।
सन्दीप लामिछानेले ४ ओभर खेल्दै १४ रन खर्चेर २ विकेटसहित एक मेडन लिए । कप्तान रोहित पौडेल र सोमपाल कामीले समान एक/एक विकेट लिए ।
आजको खेलको विजेताले सन् २०२४ को टि२० विश्वकप खेल्न पाउनेछ ।