काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक मोन्टी देसाइले नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई मैदान फर्काउने प्रयास भइरहेको बताएका छन्। ओमानसँगको खेलपछि मोन्टीले यस्ताे बताएका हुन्।
‘दीपेन्द्र हाम्रा लागि महत्वपूर्ण खेलाडी हुन्। हामीले हरेक स्रोतहरु लगाइरहेका छौं । हरेक विशेषज्ञहरुले दिपेन्द्रको लागि के ठिक हुन्छ सबै थोक गरिरहेका छन्,’ उनले भने, ‘हामीले दिपेन्द्रको करिअरको बारेमा पनि सोच्नुपर्छ । हामी सामुहिक छलफलमै छौं ।’
तर दिपेन्द्रले भोलि शुक्रबार हुने यूएईविरुद्धको सेमिफाइनल खेल खेल्ने नखेल्ने बारेमा केही थाहा नभएको देसाइले बताए ।
दीपेन्द्र यसअघि सिंगापुरविरुद्धको खेलअघि घाइते भएका थिए। सोही दिन उनलाई उपचारका लागि मेडिसिटी अस्पताल पुर्याइएको थियो। उनको गोलीगाँठोमा चोट लागेको थियो।