दमौली । आदिकवि भानुभक्त आचार्यको जन्मथलोमा भानुगृह निर्माण सुरु हुने भएको छ । तनहुँको भानु नगरपालिका–४ चुँदीरम्घा शिखरकटेरीमा भानुभक्तको घर निर्माण गर्न लागिएको हो । शिलान्यास भएको सात वर्षपछि भानुगृहको काम सुरु हुन लागेको आदिकवि भानुभक्त जन्मस्थल विकास समितिका कार्यकारी निर्देशक शङ्कर रानाभाटले जानकारी दिनुभयो । विसं २०७३ चैत २२ गते पश्चिमाञ्चल विकास मञ्चले भानुगृहको शिलान्यास गरेको थियो ।
मञ्चकै सक्रियतामा काम पुनः सुरु हुन लागेको उनले बताए । उनका अनुसार अगामी मङ्सिरदेखि काम सुरु गर्ने तयारी छ । उनले भने, ‘लामो समयदेखि काम नहुँदा अब समितिकै सक्रियतामा भानुगृह बनाउने छलफल भइरहेको थियो । मञ्चका पदाधिकारीले हामीले नै बनाउँछौँ भनेर प्रतिबद्धता जनाउनुभएको छ ।’ भानुगृह निर्माणका लागि मञ्चका तर्फबाट आर्थिक सङ्कलनसमेत भएको छ । उनले भने, ‘सात वर्ष अगाडि भानुगृहको लागत रु ६८ लाख अनुमान गरिएको थियो । अहिलेको अवस्थामा रु एक करोड जति पुग्ला । मञ्चका तर्फबाट आर्थिक सङ्कलन भइसकेको छ भनेपछि विकास समिति पछाडि हटेको छ ।’
यस वर्ष जसरी पनि भानुगृह निर्माणको काम सुरु गर्ने तयारीमा समिति थियो । तर अब मञ्चकै सक्रियतामा काम सुरु हुने र मञ्चका तर्फबाट समितिलाई परिपत्र भइसकेको निर्देशक रानाभाटको भनाइ छ । समितिले शिखरकटेरीमा तारबार र सिसी क्यामरासमेत जडान गर्दैछ । यही ठाउँमा रामायण भवन निर्माण भइसकेको छ । जङ्गलको बीचमा भएकाले संरक्षणविहीन अवस्थामा पुगेको छ ।
विसं २०५७ मा भानु जन्मस्थल विकास समितिको सहयोगमा यादव खरेलले ‘आदिकवि भानुभक्त’ नामक चलचित्र निर्माण गर्नका लागि भानुभक्तको घर रु एक लाखमा पुनःनिर्माण गरेका थिए । जङ्गलबीचको खरको छानाको घरमा विसं २०६१ जेठमा आगलागी भएको थियो जसमा करिब रु एक लाख २७ हजारको क्षति भएको थियो । भानु–४ चुँदीरम्घामा विसं १८७१ असार २९ गते जन्मिएका आचार्यको विसं १९२५ असोज ६ गते निधन भएको थियो ।
नेपाली साहित्यका प्राथमिककालका प्रतिनिधि कविको रुपमा परिचित भानुभक्त वाल्मिकी रामायणका अनुवादकका रुपमा प्रख्यात छन् । मोतिराम भट्टले उनलाई पहिलो पटक नेपाली भाषाका आदिकवि उपाधि दिएका बताइन्छ । भानुभक्तले प्रश्नोत्तर, भक्तमाला, बधुशिक्षालगायतका कृति लेखेका छन् भने उनका पाण्डुलिपीलाई सङ्ग्रह गरेर मोतिराम भट्टले पुस्तकाकारमा प्रकाशित गरेपछि उनी नेपाली साहित्यमा चिनिएका थिए ।