काठमाडौं । नेपालले यूएईलाई १९ रनले हराउँदै यू-१९ प्रिमियर कपको उपाधि जितेको छ ।
युएईलाई डकवर्थ लेविस पद्धतिको आधारमा १९ रनले हराउँदै नेपालले उपाधि जितेको हो । जितको लागि १ सय ९८ रनको विजयी लक्ष्य पछ्याएको युएई २६.५ ओभरमा १ सय ७८ रनमा अल आउट भयो ।
यूएईका ध्रुव परशरले ५९, आर्यान्स शर्माले ३२, कप्तान आयन अफ्जल खानले ३०, ययिन किरण राईले १७ रन बनाए ।
नेपालका आकाश त्रिपाठीले ५ ओभरमा ३६ रन खर्चेर ४ विकेट लिए । सुवास भण्डारीले ३ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाएर यूएईलाई २८१ रनको लक्ष्य दिएको थियो ।
नेपालको जितमा देव खनालले ९२ बलमा ९ चौका र ३ छक्कासहित सर्वाधिक १ सय रनको शतकीय इनिङ खेलेका थिए ।ओपनर अर्जुन कुमाल ७८ बलमा ४ चौकासहित ५५ रनमा आउट भए ।
युएईका तीव्र गतिका बलर हरित शेठ्ठीले ८ ओभरमा ४५ रन खर्चेर सर्वाधिक ५ विकेट लिए ।