इस्लामाबाद । निर्वाचनअघि राजनीतिक पुनरागमन गर्ने तयारीमा तीनपटक प्रधानमन्त्री बनेका नवाज शरिफ चार वर्षको स्वनिर्वासनपछि शनिबार पाकिस्तान फर्केका छन् ।
सन् २०२४ मा हुन लागेको निर्वाचनअघि व्यापक सुरक्षा, आर्थिक र राजनीतिक सङ्कटको सामना गरिरहेको पाकिस्तानमा शरिफका प्रमुख प्रतिद्वन्द्वी नेता इमरान खान अहिले जेलमा छन् ।
स्थानीय मिडियाका अनुसार विगत थुप्रै दिन दुबईमा बिताएका शरिफले पत्रकारहरूले भरिएको चार्टर्ड उडानमा स्थानीय समयअनुसार दिउँसो १ः३० बजे राजधानी इस्लामाबाद टेके ।
विश्लेषकहरूका अनुसार शरिफको स्वदेश फिर्तीमा शक्तिशाली सेनाको मध्यस्थता हुनसक्छ । गत वर्ष पदच्युत भएपछि सेना र इमरान खानको पार्टीबीच सम्बन्ध बिग्रियो ।
शरिफले इस्लामाबादपछि अर्को ठूलो सहर लाहोरको भ्रमण गर्नेछन् । जहाँ हरियो र पहेँलो पार्टी पोस्टर र ब्यानर बोकेर समर्थकहरू उनको स्वागतका लागि जम्मा भइरहेका छन् ।
एक उच्च अधिकारीका अनुसार ग्रेटर इकबाल पार्कमा सम्भावित भिडलाई नियन्त्रण गर्न सात हजारभन्दा बढी प्रहरीलाई परिचालन गरिएको छ । उक्त पार्कमा शरिफले घर फिर्तीबारे सम्बोधन गर्ने कार्यक्रम छ ।