टक्सार (भोजपुर) । भोजपुरमा अन्तर्राष्ट्रियस्तरको रङ्गशाला निर्माण गरिएको छ । निर्माण कार्य पूरा भएसँगै जिल्ला समन्वय समितिलाई चाबी हस्तान्तरण गरिएको छ ।
सहरी विकास तथा भवन डिभिजन कार्यालय धनकुटाका इन्जिनियर शिवकुमार शाहले जिल्ला समन्वय समिति भोजपुरका प्रमुख कमल थुलुङ राईलाई बुधबार रङ्गशालाको चाबी हस्तान्तरण गरेका हुन् । रङ्गशालाको चाबी बुझ्दै प्रमुख राईले भने, ‘खेल मैदान नहुँदा खेलाडीमा निराशा छाएको थियो, अब रङ्गशाला बनेको छ, यसको संरक्षण र सम्वद्र्धन गर्दे ठूला प्रतियोगितासमेत सञ्चालन गर्न सकिन्छ ।’ रङ्गशालाको संरक्षणका लागि कार्यालयले सम्बन्धित निकायसँग समन्वय गर्ने बताए ।
तत्कालीन जिल्ला विकास समितिले रङ्गशाला निर्माणका लागि २०६४ सालमा जग्गा खरिद गरेको थियो । सहरी विकास तथा भवन डिभिजन कार्यालय धनकुटाले हेर्ने गरी प्रदेश सरकारको १४ करोड लगानीमा रङ्गशाला निर्माण भएको हो । रङ्गशालाको निर्माणको जिम्मा रायमाझी मार्सेली निर्माण जेभीले पाएको थियो ।
सुविधा सम्पन्न रङ्गशाला बनेपछि स्वामित्व कसले लिएर सञ्चालन गर्ने भन्ने समस्या पनि समाधान भएकाले अब खेलकुद प्रतियोगिता सञ्चालन गर्न पाइने भोजपुर जिल्ला फुटबल सङ्घका महासचिव तुफान किरातले बताए ।
करिब पाँच हजार दर्शक अट्ने क्षमताको अन्तर्राष्ट्रियस्तरको रङ्गशाला निर्माणले भोजपुरवासी तथा खेलाडीमा उत्साह जगाएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले बताए । उनले निर्माण कार्य सकिएर चाबीसमेत हस्तान्तरण भएकाले सानो मैदानमा खेलकुद प्रतियोगिता गराउनुपर्ने बाध्यताको समेत अन्त्य भएको बताए ।