एजेन्सी । इजरायल र हमासबीच गत शनिबारदेखि रक्तपातपूर्ण द्वन्द्व जारी छ । दुवै पक्षबाट भएको लगातारको आक्रमणमा १६ सयभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । यस विषयमा चीनले विज्ञप्ति जारी गर्दै हिंसाको निन्दा गरेको छ ।
चीनले भन्यो, "हामी इजरायल र प्यालेस्टाइनबीच जारी द्वन्द्वबाट गहिरो चिन्तित छौं। दुवै पक्षबाट भएको आक्रमणमा ठूलो संख्यामा सर्वसाधारण मारिएका छन्, जसमा हामी दुःखी छौं। हामी नागरिकहरूमाथिको यो हिंसाको निन्दा गर्छौं। विरोध गर्दछौं। हामी आशा गर्छौं कि यो युद्ध छिट्टै बन्द हुनेछ र शान्ति पुनर्स्थापित हुनेछ।"
यसअघि अमेरिकी सिनेटका बहुसंख्यक नेता चक शुमरले इजरायलमा हमासको आक्रमणपछि चीनको भनाइबाट आफू निकै निराश भएको बताएका थिए। चक शुमर अहिले चीन भ्रमणमा छन् ।
यस द्वन्द्वको सन्दर्भमा आइतवार दिएको एक विज्ञप्तिमा चीनले यस क्षेत्रका नागरिकहरू सुरक्षित हुनका लागि "सम्बन्धित पक्षहरू" ले तनाव अन्त्य गर्नुपर्ने र समाधानका लागि "दुई राज्य समाधान" मा पनि काम गर्नुपर्ने बताएको थियो।
हमासले शनिबार इजरायलमा नियोजित आक्रमण गरेदेखि दुई देशबीचको रक्तपातपूर्ण द्वन्द्वमा हालसम्म ९०० इजरायलीको मृत्यु भइसकेको छ ।
इजरायलको जवाफी आक्रमणमा गाजाका ७०० मानिसको मृत्यु भएको छ।