सर्लाही । सर्लाहीको ईश्वरपुरबाट लागूऔषधसहित शनिबार साँझ दुई जना युवक पक्राउ परेका छन्।
भारतीय बजार सोनवर्षाबाट लालबन्दीतर्फ आउँदै गरेको ना४६प २५६९ नम्बरको मोटरसाइकलमा लुकाइछिपाई लागूऔषध लिएर आउँदै गर्दा लालबन्दी नगरपालिका–१ का १९ वर्षीय भरत सहनी र सोही ठाउँका २१ वर्षका जितेन्द्र महतोलाई प्रहरीले पक्राउ गरेको हो।
उनीहरूको साथबाट ४९ बोतल कोरेक्स र ६ सय नाइट्राजेपाम नामक ट्याबलेट बरामद भएको प्रहरीले जनाएको छ। सीमावर्ती बजारबाट राजमार्गतिर आउँदै गरेका सहनी र महतोलाई ईश्वरपुर नगरपालिका–७ पोखरी टोलमा प्रहरीले शंका लागी चेक गर्दा लागूऔषध बरामद भएको हो।
उनीहरूले मोटरसाइकलको बीच भागमा चामलको बोरामा लुकाएर ल्याउँदै गर्दा लागूऔषध फेला परेको प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए।
लागूऔषधसहित पक्राउ परेका दुई जनासहित मोटरसाइकल पनि आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय केशरगन्जमा राखिएको छ।