काठमाडौं । गत शुक्रबार अस्ट्रेलिया उडेका नेपाली राष्ट्रिय फुटबल टिमका फरवार्ड विमल घर्तीमगर नेपाल सुपर लिग (एनएसएल) खेल्न नेपाल फर्किने भएका छन् ।
उनले सामाजिक सञ्जालमार्फत आफू नेपाल सुपर लिगमा आइकनिक प्लेयरका रुपमा चितवन एफसीबाट खेल्न लागेकाे जानकारी दिए । विमलले चितवनले आफूलाई ‘आइकोनिक प्लेयर’को रुपमा टिममा राख्दै खेल्ने मौका दिएको धन्यवाद व्यक्त गरे ।
विमल राष्ट्रिय फुटबल टिमबाट विदा हुँदै गत साता अष्ट्रेलिया प्रस्थान गरेका थिए । जानुअघि उनले एनएसएलका लागि ललितपुर सिटी एफसीसँग गरेको सम्झौता रद्द गरेका थिए । सो क्लवले उनलाई मार्की खेलाडीका रुपमा अनुवन्ध गरेको थियो । विमलले छोडेपछि उनको स्थानमा अनन्त तामाङलाई ल्याइएको छ ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, “जिन्दगीमा अनेकौँ उत्तरचढाव आउँछन् । उमेरको बड्दो क्रमसँगै जिम्मेवारी र व्यावहारिकपन पनि बढ्ने रहेछ । त्यसैक्रममा आफ्नो र परिवारको उज्ज्वल भविश्य बनाउनको निम्ति आफ्नो प्राणप्यारो देशप्रतिको माया र लगावलाई एकछिन थाँती राखेर अष्ट्रेलिया आउने निधो गरेँ । तर पनि मलाई माया गरेर पुनः मलाई आउँदै गरेको नेपाल सुपर लिगमा आइकनिक प्लेयरको रुपमा फेरि पनि आफ्नो माटोमा खेल्ने सुवर्ण मौका दिनुभएकोमा चितवन एफसीलाई हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु । यो अवसर सिर्जना गरिदिनु हुने आदरणीय व्यक्तित्वलगायत मेरा सम्पूर्ण शुभचिन्तकहरुमा हार्दिक नमन टक्र्याउन चाहन्छु । जय नेपाल, जय नेपाली फुटबल ।”