काठमाडौं । ६० किलो बढी सुन तस्करी प्रकरणमा पक्राउ परेका बेल्जियमको पासपोर्टधारी तिब्बती मुलका दावा छिरिङले काभ्रे जिल्ला प्रशासन कार्यालयबाट निमा तामाङका नाममा नागरिकता लिएको पुष्टि भएको छ। गृह मन्त्रालयका अनुसार उनले काभ्रेको नमोबुद्ध नगरपालिका-११ का पेमा तामाङको छोरो बनेर नागरिकता लिएको देखिएको हो। उनको नागरिकताका विषयमा छानबिन गर्न गृह मन्त्रालयले समिति नै बनाएको थियो।
गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार उक्त विषयमा छानबिन गर्न गत साउन २२ गते गृह मन्त्रालयको नागरिकता तथा राष्ट्रिय परिचयपत्र व्यवस्थापन शाखाका उपसचिव कृष्णबहादुर कटुवालको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरिएको थियो।
समितिमा गृह मन्त्रालयको कानुनी शाखा अधिकृत प्रमोद विक, काभ्रेका प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपाने, अध्यागमन विभागका अधिकृत खेमराज सापकोटा र जिल्ला प्रशासन कार्यालय काभ्रेका प्रशासकीय अधिकृत मीनराज थापा थिए।
समितिले २ हप्ता लगाएर गरेको अनुसन्धानमा उनले नेपालबाट नागरिकता लिएको पुष्टि भएको हो। उनी नेपालमा बेल्जियमको नागरिकका रुपमा पर्यटक भिसामा आएको अवस्थामा पक्राउ परेका थिए। उनले नेपाली नागरिकता लिएको पाइएपछि तथ्य पुष्टि गर्न अनुसन्धान टोली गठन गरिएको थियो। सो नागकिरताको यकिन गर्न गरिएको अनुसन्धानमा उनले किर्ते गरेर नेपाली नागरिकता लिएको पुष्टि भएको छानबिन समितिका एक सदस्यले राससलाई जानकारी दिए।
छानबिन समितिका ती सदस्यले भने, ‘निमा लामाको नामबाट नागकिरता लिएको पुष्टि भयो, अनुसन्धानमा उनको सिआइबी, अध्यागमन विभागमा भएको बायोमेट्रिक र हिरासतमा भेटेर लिएको बायोमेट्रिक मिलेकाले उनकै नागकिरता भएको पुष्टि गरेका छौँ।’ समितिले बनाएको प्रतिवेदन मन्त्रालयलाई बुझाइसकिएको छ। थप अपराध अनुसन्धान भने सीआईबीले नै हेर्ने गरी सिफारिस गरिएको पनि समितिले जनाएको छ।
दावालाई गत साउनको १३ गते शनिबार राजस्व अनुसन्धान विभागले पक्राउ गरेको थियो। ठमेलको होटल भियानामा छापा मारी उनलाई पक्राउ गरिएको थियो। १७ वर्षअघि पनि उनी पक्राउ परेका थिए। उनले २०७४ पुस २० गते नागकिरता लिएको खुलेको थियो। उनीसहित अन्य केही व्यक्तिले पनि नेपाली नागरिकता लिएको खुलेको छ। केहीसँग भारतीय आधार कार्डसमेत भेटिएको थियो।
हङकङबाट क्याथे प्यासिफिक एयरलाइन्सको कार्गोमार्फत् आएको मोटरसाइकलको ब्रेक प्याडको रुपमा ल्याएर भन्सार समेत जाँचपास भएको अवस्थामा राजस्व अनुसन्धान विभागको टोलीले ठूलो परिमाणमा सुन बरामद गरेको थियो। ब्रेक प्याड गालेर नापजाँच गर्दा उक्त सुन ६० किलो ७१६ ग्राम रहेको यकिन भएको थियो।
अहिले उक्त प्रकरणको अनुसन्धान प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) गरिरहेको छ। सुन तस्करी प्रकरणमा अहिलेसम्म ६ विदेशीसहित २५ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा केही भारतीय र केही चिनियाँ नागरिक पनि छन्। सुन प्रकरणकै सूचना सङ्कलनका लागि सीआईबीका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यलाई हङकङ पठाइएको छ।