काठमाडाैँ । एसिया कप २०२३ मा नेपालले पहिलाे खेलमा हार व्यहोरेको छ । बुधबार भएको उद्घाटन खेलमा घरेलु टोली पाकिस्तानसँग नेपाल २३८ रनले पराजित भएको हो ।
जितको लागि ३ सय ४३ रनको विशाल विजयी लक्ष्य पछ्याएको नेपाल २३.३ ओभरमा १ सय ४ रनमा अल आउट भयो ।नेपालका लागि सोमपाल कामीले ४६ बलमा ४ चौकासहित सर्वाधिक २८ रन बनाए । अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।
यसअघि ब्याटिङ गरेकाे पाकिस्तानले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३ सय ४२ रन जोडेको थियाे।
पाकिस्तानका लागि कप्तान आजमले उत्कृष्ट प्रदर्शन गर्दै १३१ बलमा १५१ रन बनाए। उनी अन्तिम ओभरमा सोमपाल कामीको बलमा क्याचआउट भएका थिए। उनले यस क्रममा १४ चौका र ४ छक्का प्रहार गरे।
त्यस्तै इफ्तिकार अहमदले पनि शतकीय पारी खेले। उनले नटआउट रहँदै १०९ रन बनाए। उनले ११ चौका र ४ छक्का प्रहार गरेका थिए।
नेपालले खेलमा राम्रो सुरुवात गर्दै दुवै ओपनरलाई सस्तोमा आउट गरेपछि घरेलु टोली दबाबमा परेको थियो। फखर जमान १४ रन बनाएर करन केसीको शिकार बने भने इमाम उल हक ५ रन बनाएर रनआउट भए।
त्यसपछि कप्तान बाबरले मोहमद रिजवानसँग मिलेर पाकिस्तानको पारी सम्हालेका थिए।
नेपालका लागि सोमपाल कामीले २ तथा सन्दीप लामिछाने र करन केसीले १–१ विकेट लिए।