भक्तपुर । नेपाल इन्जिनियरिङ कलेज (नेक) दुवाकोट चाँंगुनारायण भक्तपुरको कार्यकारी प्रिन्सिपलमा एसोसिएट प्रोफेसर दुर्गाप्रसाद भण्डारी नियुक्त भएका छन् ।
यसअघि सहायक प्रिन्सिपल रहेका इन्जिनियर भण्डारीलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्धारा गठित सञ्चालक समितिको मंगलबार बसेको २३ औ बैठकले उनलाइ कार्यकारी प्रिन्सिपल नियुक्ति दिएको हो । कलेज सञ्चालक समितिका अध्यक्ष एवं चाँंगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीको अध्यक्षतामा बसेको बैठकले भण्डारीलाई कार्यकारी प्रिन्सिपलमा नियुक्त गरेको हो ।
कलेजका यसअघिका प्रिन्सिपल प्रा.डा. हरिकृष्ण श्रेष्ठको उमेर हदका कारण अनिवार्य अवकास पाएपछि कलेजको प्रिन्सिपल पद रिक्त भएको थियो । यसअघिका प्रिन्सिपल प्रा.डा. श्रेष्ठले यही हप्ता मात्रै अवकास पाएका थिए । यसपछि मंगलबार बसेको बैठकले भण्डारीलाई कार्यकारी प्रिन्सिपल नियुक्त गरेको हो ।
अगष्ट १, २०२१ मा सहायक प्रिन्सिपल नियुक्ति भएका उनी त्यसअघि कलेजकै इलेक्टोनिक्स एण्ड कम्युनिकेश विभागका बिभागीय प्रमुख (एचओडी) थिए । यसअघि उनी २००१ मा एसोसियट प्रोफेसर पदमा कलेजमा नियुक्ति भएर काम सुरु गरेका थिए । उनी इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेश इन्जिनियर हुन् ।
पोखरा विश्वविद्यालयबाट सम्वन्धन प्राप्त यो कलेज पुल्चोक इन्जिनियरिग कलेज पछिको दोश्रो उत्कृष्ट कलेज मानिन्छ । नाफा नलिने उद्देश्यका साथ गैरनाफामुलक संस्थाको रुपमा यो कलेज सञ्चालित छ । कलेज भक्तपुरको चाँगुनारायण नगरपालिका दुवाकोटमा रहेको छ ।
नवनियुक्त कार्यकारी प्रिन्सिपल भण्डारीले कजेलको उचाईलाई अझै अगाडि लाने प्रतिवद्धता जनाए । उनले सामाजिक कलेजको रुपमा स्थापित कलेजलाई यही रुपमा अगाडि वढाउने प्रतिवद्धतासमेत जनाए ।