जर्जिया । जर्जियाको पहाडी क्षेत्रमा रहेको एक रिसोर्ट क्षेत्रमा पहिरोमा परी मृत्यु हुनेको संख्या १७ पुगेको छ ।
दुर्घटना भएको तेस्रो दिन पनि खोजी तथा उद्धार कार्य जारी रहेको छ । अधिकारीहरुले अहिलेसम्म १७ जनाको ज्यान गएको पुष्टि भएको बताएका छन् ।
विदेशी सञ्चारमाध्यमका अनुसार बिहीबार जर्जियाको राजधानी टिबिलिसीबाट १४० किलोमिटर टाढा शोवी क्षेत्रमा पहिरो गएको हो । शोई क्षेत्र आफ्नो सौन्दर्यको लागी प्रसिद्ध छ। यी क्षेत्रमा कुटेज र साना होटलहरू छन्। जर्जियाको आपतकालीन व्यवस्थापन सेवाका प्रमुख टेमुर मागेब्रिशभिलीले तीन दिन पछि शनिबार १७ जनाको मृत्यु भएको पुष्टि भएको बताए । १८ जना अझै बेपत्ता छन् ।
मृतक १७ मध्ये सात जनाको मात्रै पहिचान भएको अधिकारीले बताएका छन् । अन्यको डिएनए मार्फत पहिचान हुनेछ । पहिरोको कारण सो क्षेत्रमा भारी मात्रामा बर्षा भएको थियो।