इस्लामाबाद । पाकिस्तानको पञ्जाब प्रान्तमा द्रुत गतिमा हुइँकिएको यात्रीवाहक बसका चालक निदाउँदा पाँचजनाको मृत्यु भएको छ । २० जना घाइते छन् । दुर्घटनामा तीन महिला र दुई बालबालिकाले ज्यान गुमाएका हुन् ।
पूर्वी पञ्जाब प्रान्तको राजनपुर जिल्लामा आइतबार उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने प्रहरीको भनाइ छ ।
दुर्घटनाबारे जानकारी पाउनेबित्तिकै प्रहरी र उद्धार टोली घटनास्थलमा पुगेर शव र घाइतेलाई नजिकैको अस्पताल पुर्याइएको थियो ।
तीर्थयात्री सवार उक्त बस पञ्जाबको दक्षिणी क्षेत्रमा रहेको सुफी संत सखी सरवरको मन्दिरबाट ज्याकोबाबाद जिल्लातर्फ फर्किएको थियो ।
दुर्घटनामा घाइते भएका बस चालकले यात्रा सुरु गर्नुअघि चरेस सेवन गरेको आशंकामा स्थानीय प्रहरीले उनको रगत परीक्षण गराउन आदेश दिएको छ ।