काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का धर्मपत्नी सीता दाहाललाई नेकपा (माओवादी केन्द्र) का नेता तथा कार्यकर्ताले सङ्कटमा जोगाउने र सबैलाई मिलाएर लैजाने अभिभावकमारुपमा लिने गरेको स्मरण गरेका छन् । पार्टी केन्द्रीय कार्यालयमा श्रद्धाञ्जली दिन पुगेका तथा कार्यकर्ताले सीतालाई माओवादीका सर्वोच्च नेता प्रचण्डको असली सल्लाहकारका रुपमा व्याख्या गरे ।
उनीहरुले प्रचण्डलाई सफल बनाउन सीताले खेलेको भूमिकाको चर्चा गरे । माओवादीका नेता दीनानाथ शर्माले सीताले पार्टीभित्र विभिन्न संकट र अप्ठ्यारो अवस्थामा पनि सवैलाई सम्झाई बुझाइ गरी पार्टीमा आमाको भूमिका निर्वाह गर्नुभएको स्मरण गरे ।
प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले दिवङ्गत सीताको योगदान पार्टी र आन्दोलनमा धेरै रहेको बताए । गजुरेलले सीताको मुख्य विशेषता भनेको मानिसको अनुहारलाई पढेर कुन मानिस कसरी प्रस्तुत भयो, बाहिरी आवरण मात्रै हो कि हृदयदेखि हो भन्ने अनुहार अध्ययन गरेर प्रचण्डलाई सुझाव दिनेखालको क्षमता भएको स्मरण गरे ।
पार्टीमा सङ्कट आएका बखत एकताबद्ध गर्न भेटघाट र छलफल गर्ने गरेको सन्दर्भ स्मरण गर्दै उनले सीताको योगदान पार्टीमा अतुलनीय रहेको बताए । सीताको निधनले अपूरणीय क्षति पुगेको गजुरेलको भनाइ छ । माओवादी केन्द्रका केन्द्रीय सदस्य कल्पना धमलाले सीता पार्टीको अभिभावकका रुपमा रहेको बताए ।