काठमाडौँ । फिल्म ‘बगान’को सो मल्टिप्लेक्सले खुलाएको छ । सो खुलेसँगै आफूलाई पायक पर्ने हल र सोमा दर्शकले अग्रिम टिकेट बुकिङ गर्न सक्नेछन् । पारिवारिक कथामा बनेको फिल्मको मंगलबार नै खुलेको बुकिङमा दर्शकको चासोसमेत देखिएको छ । पारिवारिक कथामा निर्माण भएको फिल्मले एकल आमाको जीवन, संघर्ष, पारिवारिक र सामाजिक अपेक्षासँगै शिक्षाले जीवनमा ल्याउने परिवर्तनलाई प्रस्तुत गर्ने अभिनेता तथा डेब्यु निर्देशक सरोज खनालले बताए ।
'यो फिल्ममा एकल आमामार्फत कथा भनिएता पनि सम्पूर्ण पक्षलाई समेटेका छौं । यसमा एकल आमासँगै युवापुस्ताको प्रेम र सामाजिक विषयसमेत राखेका छौं । यो फिल्म परिवारले नै हेर्नुभयो भने आफुलाई अवश्य पाउनुहुनेछ', निर्देशक खनालले भने ।
फिल्मको काठमाडौं उपत्यका तथा मोफसलका मल्टिप्लेक्समा फिल्मको बुकिङ खुलिसकेको छ । उपत्यकामा क्युएफएक्सअन्तर्गतका सुन्धारास्थित सिभिल मल, दरबारमार्गस्थोत दर्बार सिनेप्लेक्स, पुलचोकस्थित लविम हल, ठमेलस्थित छायाँ सेन्टर, भक्तपुरस्थित भाटभटेनी लगायतका हलहरू, कमलपोखरी स्थित सिटी सेन्टरमा रहेको बिग मुभिज, दरबारमार्गस्थित राइजिङ मलमा रहेको क्युज सिनेमाज, गोंगबुमा रहेको बिएसआर मुभिज, सुन्धारा स्थित सिटिसी मलमा रहेको सिने डी सेफ शो र चाबहिलमा रहेको केएलटावरमा अवस्थित एफक्युब, लोत्सेमलमा रहेको आईएनआई सिनेमाज, नयाँ बानेश्वर र कालिमाटीमा रहेको वान सिनेमाज, कीर्तिपुरमा रहेको कीर्तिपुर सिनेप्लेक्स लगायतका हलहरूमा अग्रिम बुकिङ खुलेको वितरण संस्था रीच इन्टरटेनमेन्टका करण श्रेष्ठले जानकारी दिए ।
'मंगलबारदेखि नै काठमाडौँ र मोफसलमा समेत बुकिङ खुलिरहेको छ । केहीमा खुलिसकेका छन् भने बुधबार साँझसम्ममा अधिकांस सो खुलिसक्नेछन्', वितरक श्रेष्ठले भने,'अग्रिम बुकिङ्ग मंगलबारदेखि नै खुल्नु हल संचालकले समेत फिल्म प्रति विश्वसनीयता देखाएका हुन् । यसले राम्रो संकेत गरेको छ ।'
यस्तै, फिल्मका निर्माता तथा गीतकार सुरेश वाग्लेले केन्द्रीय चलचित्र जाँचसमितिबाट प्रदर्शनका लागि 'युनिभर्सल' प्रमाण पत्र पाएको जानकारी दिए । 'हामीले उठान गरेको विषयले सेन्सरको क्रममा सकारात्मक प्रतिक्रिया पाउनुका साथै उहाँहरू भावनात्मक हुनुभयो । विषयवस्तुसँगै एकल आमाको संघर्ष र शिक्षाको महत्वले मनोरञ्जनसँगै संदेश समेत प्रवाह गर्ने बताउनुभयो ।'
यसमा नीर शाह, सरोज खनाल, करिश्मा मानन्धर, आकाश श्रेष्ठ, प्रमिला कार्की, बसुन्धरा भुषाल, मिथिला शर्मा लगायतको पनि अभिनय रहेको छ । स्वप्निल नीरवको कथामा आधारित रहि बनेको यो फिल्ममार्फत अभिनेता खनालले निर्देशनमा र अभिनेत्री कार्कीले अभिनयमा डेब्यु गरेका हुन् ।
नेपाली वेबसाइट डटकमको प्रस्तुति रहेको ‘बगान’का निर्माता सुरेश वाग्ले हुन् भने कार्यकारी निर्माता विनोद मानन्धर हुन् । यसमा गौरीशंकर धुजुको डिओपी, उत्सव दाहाल र नारायण जिसीको छायांकन, सन्देश शाहको सम्पादन, समिर मियाँको भि.एफ.एक्स. तथा रेनिश फागोको कलर करेक्शन रहेको छ ।
ब्याकराउन्ड स्कोर सुजिल कर्माचार्य र साउन्ड मिक्सिंग मुकेश शाहको रहेको छ । हरि लम्साल र सुवास भुषालको संगीत रहेको फिल्मका गीतमा अञ्जु पन्त, सुगम पोखरेल र अस्मिता अधिकारीको स्वर रहेको छ । चलचित्रको वितरण रिच इन्टरटेन्मेन्ट र डिसिएनले काठमाडौँ उपत्यका र मोफसलमा एफडी कम्पनीले गर्दैछ ।