काठमाडौं । नेपाल नेत्रज्योति संघ र अष्ट्रेलियाको डाक फाउन्डेशनका बिचमा आपसी सहकार्य गर्ने सम्बन्धि सम्झौतापत्र (एमओयू) मा हस्ताक्षर भएको छ । उक्त सम्झौतापत्रमा संघका तर्फबाट अध्यक्ष प्रा.डा चेतराज पन्त र फाउन्डेशनका तर्फबाट संस्थापक डेभ रिकार्डले हस्ताक्षर गरेका हुन् ।
फाउन्डेशनले सन् २०२३ का लागि करिब ८ हजार जना आँखाका बिरामीहरुको निशुल्क शल्यक्रियाका लागि संघलाई अनुदान रकम उपलब्ध गराउने छ भने संघले विभिन्न अस्पताल तथा बाह्य कार्यक्रमहरु मार्फत आर्थिक अभावका कारण आँखा उपचार सेवाबाट बन्चित नागरिकहरुको निःशूल्क आँखा उपचार गर्नेछ ।
संघ र फाउन्डेशनका बिचमा सन् २०१९ देखि निरन्तर सहकार्य भइरहेको र यसैको निरन्तरतको स्वरुप यो बर्षका लागि करिब ८ हजार बिरामीहरुको निशुल्क आँखाको शल्यक्रियाका लागि सम्झौता भएको हो ।
नेपाल नेत्र ज्योति संघले हाल देश भरमा २७ वटा आँखा अस्पताल, १५४ आँखा उपचार केन्द्र र ४४ वटा जिल्ला शाखाहरू मार्फत नागरिकहरूलाई गुणस्तरीय आँखा उपचार सेवा प्रवाह गर्दै आइरहेको छ ।