धनगढी। कैलाली कारागारमै लागूऔषध फेला परेको छ।
धनगढी उपमहानगरपालिका–१ जबरजस्ती करणी मुद्दामा कारागार चलान भएका ३१ वर्षीय करन बमलाई भेट्न आएका आफन्तबाट १३ ग्राम लागूऔषध बरामद गरेर पक्राउ गरेको प्रहरीले जनाएको छ । आज दिउँसो १ बजेर ३० मिनेटमा बमलाई भेट्न आएका डोटीको बोगटान नगरपालिका–६ घर भई हाल धनगढी उपमहानगरपालिका–६ चटकपुरमा नास्ता पसल सञ्चालन गर्दै आएका २५ वर्षीय भीम बोगटीबाट लागूऔषध फेला परेपछि उनलाई पक्राउ गरिएको हो ।
बोगटीलाई चेकजाँच गर्दा स्याम्पुको डब्बाभित्र लागूऔषध फेला परेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय कैलालीबाट लागूऔषध मुद्दामा म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ ।